कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। आइतबार दिउँसो च्याउ खोज्न निकुञ्जभित्र पसेका उनीहरू सोमबार बिहानसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार प्रहरी र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले उनीहरूको खोजी गरिरहेको छ। उनीहरू सबै महिला रहेको प्रहरीले बताएको छ।
भीमदत्त नगरपालिका-१९ र बेदकोट नगरपालिका-१० का ती महिला आइतबार दिउँसो २ बजेतिर च्याउ खोज्न निकुञ्जभित्र पसेका हुन्। उनीहरू दुई समूहमा विभाजित भएर निकुञ्ज प्रवेश गरेका थिए—एउटा समूहमा ५ जना र अर्कोमा ९ जना।
भीमदत्त नगरपालिका-१९ का वडाध्यक्ष जोगराम चौधरीका अनुसार बेदकोट नगरपालिका-१० चतहरीकी ३ जना र भीमदत्त नगरपालिका-१९ बागफाँटाकी ११ जना महिला निकुञ्ज प्रवेश गरेका हुन्। उनीहरूमध्ये केही एउटै परिवारका सदस्यसमेत रहेको बताइएको छ।
घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
