ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण देखिएपछि २७ दिनसम्म सर्वसाधारणका लागि बन्द गर्नुपर्दा करिब तीन करोड रुपैयाँ आर्थिक क्षति भएको छ। चिडियाखाना सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि चिडियाखाना बन्द गरेको थियो। सङ्क्रमण नियन्त्रणमा आएपछि यही साउन १ गतेदेखि पुनः सञ्चालनमा ल्याइएको छ।
चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सङ्क्रमण देखिएपछि नियमित सरसफाइ, सङ्क्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अपनाइएको थियो। पछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।
आगन्तुक संख्यामा कमी
सामान्य दिनमा दैनिक एक हजार ७ सयदेखि एक हजार ८ सय आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेकोमा पुनः सञ्चालन भएको पहिलो दिन साउन १ गते आठ सय जनाले मात्र भ्रमण गरेका थिए। शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५ सयदेखि पाँच हजार जनासम्मले चिडियाखानामा समय बिताउने गरेको सूचना अधिकारी कोइरालाले बताए।
आर्थिक लक्ष्यमा चुनौती
चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकका लागि रु १ सय, विद्यार्थीका लागि रु १५० र अन्य आगन्तुकका लागि रु २५० प्रवेश शुल्क लिँदै आएको छ। गत आर्थिक वर्षमा चिडियाखानाले करिब १८ करोड आम्दानी गरेको थियो। चालू आर्थिक वर्ष २०८२/८३ मा रु २१ करोड आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि बर्डफ्लुका कारण लामो समय बन्द रहँदा लक्ष्य पूरा गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ।
हाल चिडियाखानाको टिकट काउन्टर बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहने व्यवस्था गरिएको छ भने सबै आगन्तुक साँझ ५ बजेसम्म बाहिरिनुपर्नेछ। सङ्क्रमणअघि टिकट काउन्टर साँझ ६ बजेसम्म खुला रहने गरेको थियो।
