मुख्य सामग्रीमा जानुहोस्

काठमाडौं महानगरको स्क्रिनिङमा ९० महिलामा एचपीभी संक्रमण, दुईमा स्तन क्यान्सर पुष्टि

काठमाडौं महानगरपालिकाले गरेको स्वास्थ्य स्क्रिनिङमा ९० महिलामा एचपीभी संक्रमण र दुई जनामा स्तन क्यान्सर देखिएको छ । विज्ञहरूले स्थानीय तहलाई आधारभूत क्यान्सर स्क्रिनिङ सेवा विस्तार गर्न आग्रह गरेका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य स्क्रिनिङ अभियानमा ९० महिलामा मानव प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमण र दुई जनामा स्तन क्यान्सर पुष्टि भएको छ । यो जानकारी भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले दिएका हुन् ।

डा. चालिसेका अनुसार नेपालमा अधिकांश क्यान्सरका बिरामी लक्षण देखिन थालेपछि मात्र उपचारका लागि आउँछन् । तर रोगको सुरुआती चरणमा प्रायः कुनै लक्षण देखिँदैन । उनले भने, “लक्षण देखिन थालेपछि धेरैजसो अवस्थामा रोग निकै बढिसकेको हुन्छ, जसका कारण उपचारको नतिजा पनि राम्रो आउँदैन । त्यसैले समयमै परीक्षण गराउनुपर्छ ।”

विज्ञहरूले स्थानीय तहलाई आधारभूत क्यान्सर स्क्रिनिङ सेवा स्थानीय स्वास्थ्य संस्थामै उपलब्ध गराउन आग्रह गरेका छन् । यसले प्रारम्भिक पहिचानमा मद्दत पुग्ने र उपचारको प्रभावकारिता बढाउने उनीहरूको भनाइ छ ।

नेपालमा क्यान्सरका बिरामीको यकिन तथ्यांक उपलब्ध नभए पनि ग्लोबल क्यान्सर अब्जर्भेटरीका अनुसार प्रत्येक वर्ष २२ हजारभन्दा बढी नयाँ क्यान्सरका बिरामी थपिन्छन् भने करिब १४ हजार जनाको क्यान्सरका कारण मृत्यु हुन्छ । यसले क्यान्सर स्क्रिनिङको महत्त्वलाई उजागर गर्छ ।