मुख्य सामग्रीमा जानुहोस्

मनाङमा चामे–नार्पाभूमि जोड्ने बेलिब्रिज सञ्चालनमा

चामे–नार्पाभूमि सडकखण्डअन्तर्गत मस्र्याङ्दी नदीमाथि निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएको छ। नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले उद्घाटन गरेको पुलले स्थानीयको आवागमन तथा ढुवानी सहज बनाउने अपेक्षा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

मनाङको चामे गाउँपालिकाको वडा नं ३ र ५ बीचको सम्पर्क अब मस्र्याङ्दी नदीमाथि बनेको नयाँ पुलले जोडेको छ। बेलिब्रिज सञ्चालनमा आएपछि लामो समयदेखि सडक पहुँच नपाएका नार्पाभूमिका स्थानीयको दैनिक आवागमन र सरसामान ढुवानी सहज बनेको छ।

सोमबार नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले उद्घाटन गरेपछि पुल औपचारिक रूपमा सञ्चालनमा आएको हो।

पुलको निर्माण र विशेषता

नयाँ बेलिब्रिज ५४.४ मिटर लामो र ४ मिटर चौडा छ। पुलको भारवहन क्षमता ५५ टन रहेको अध्यक्ष लामाले बताए। उनका अनुसार करिब ६ करोड रुपैयाँको लागतमा यो पुल तयार पारिएको हो।

पुल निर्माणमा नार्पाभूमि गाउँपालिका र नारखोला हाइड्रो इनर्जी प्रालिबीच साझेदारी रहेको थियो। बेलिब्रिज निर्माणसँगै गाउँपालिकाको सडक पहुँच विस्तार भएको छ।

अध्यक्ष लामाका अनुसार सडक पहुँच विस्तारको प्रत्यक्ष प्रभाव शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यापार र सरकारी सेवा प्रवाहमा पर्नेछ।

सडक विस्तारको अवस्था

हाल चामेदेखि नार्पाभूमिको सीमासम्म ६ किमी सडक पुगेको छ। गाउँपालिका केन्द्रसम्म सडक जोड्न भने अझै ११ किमी बाँकी रहेको छ।

बाँकी खण्डमा अहिले मार्ग खोल्ने काम भइरहेको छ। आगामी चैतसम्म सडक पुर्‍याउने लक्ष्य अध्यक्ष लामाले सुनाए। स्थानीय नार खोलामा पुल बनिसकेपछि जिल्ला सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिका सडक सञ्जालमा जोडिनेछन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील लम्सालले बेलिब्रिज सञ्चालनसँगै नार्पाभूमिलाई सडक सञ्जालमा जोड्ने प्रक्रिया अगाडि बढेको बताए।