देशभरका प्रमुख राजमार्गहरूमा भारी वर्षा, पहिरो र बाढीका कारण यातायात प्रभावित भएको छ। केही सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने अन्यमा सुरक्षाको खातिर रात्रिकालीन यातायात बन्द गरिएको छ। नेपाल प्रहरीले आज बिहान ७:५० बजे जारी गरेको सडक अद्यावधिक अनुसार धेरै राजमार्गहरूमा अवरोध सिर्जना भएको छ।
रात्रिकालीन यातायात प्रतिबन्ध
बीपी राजमार्गको खुर्कोट, नेपालथोक र कटुन्जेबेसी खण्डमा बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारी साधनको आवागमनमा प्रतिबन्ध लगाइएको छ। त्यस्तै, कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ। ललितपुरको बागमती गाउँपालिकामा सुख्खा पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ।
पूर्णरूपमा अवरुद्ध राजमार्गहरू
इलाम नगरपालिका–९ मा मेची राजमार्ग लगातारको वर्षाले हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गमा जिरो किलो र कोदारीमा पहिरो खसेपछि यातायात पूर्णरूपमा ठप्प भएको छ। दोलखाको किर्नेतरमा सामाकोशी नदीले सडक कटान गरेपछि लामोसाँघु–रामेछाप सडक अवरुद्ध भएको छ। रसुवाको खाल्टेमा त्रिशूली नदीले सडक बगाउँदा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ। जाजरकोट–डोल्पा सडकमा मुलपानी खोलामा बाढी आएपछि पनि यातायात ठप्प भएको छ।
प्रहरीले यात्रुहरूलाई यात्रा सुरु गर्नु अघि सडको अवस्थाकोबारेमा सम्बन्धित निकायसँग जानकारी लिन आग्रह गरेको छ। साथै, मनसुनको समयमा पहिरो, बाढी र सडक बग्ने जोखिम उच्च रहेकोले सतर्कता अपनाउन पनि प्रहरीले आग्रह गरेको छ।
