मुख्य सामग्रीमा जानुहोस्

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु पूर्वसूचना प्रणाली जडान

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका चार गाउँमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको छ। यसले हात्ती, बाघ, चितुवा, निलगाईलगायत वन्यजन्तुको आक्रमणबारे स्थानीयलाई सतर्क…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई वन्यजन्तुको जोखिमबाट जोगाउन पूर्वसूचना प्रणाली जडान गरिएको छ। निकुञ्जको प्रमुख वीरेन्द्र कँडेलका अनुसार कोहलपुर–१३ को खडगवार, राप्तीसोनारी–९ को महादेवपुर, राप्तीसोनारी–८ को बुचापुर तथा राप्तीसोनारी–२ को गोभारपुरमा साइरन जडान गरिएको हो।

जेडीएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, निलगाईलगायत वन्यजन्तुको सम्भावित आक्रमणबारे समयमै सूचना दिएर स्थानीयलाई सतर्क हुन सहयोग गर्ने बताए। उनले गत असारमा जीपीएस ट्रयाकिङ प्रणाली पनि जडान गरिएको जानकारी दिए।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका प्रयास

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले निकुञ्जबाट बस्ती सुरक्षित राख्न तारबार, मेषजाली, बाख्रासुधार तथा भकारो सुधारजस्ता कार्यक्रम सञ्चालन भइरहेको बताए। जीपीएस ट्र्याकिङ प्रणालीमार्फत निकुञ्जभित्र हुने गतिविधिबारे जानकारी प्राप्त गर्न सकिने उनको भनाइ छ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले वर्षौंदेखि जङ्गली हात्तीलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय तथा अन्नबालीमा क्षति बेहोर्दै आएका छन्। निकुञ्जसँग जोडिएका ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा हात्ती–मानव द्वन्द्व बारम्बार दोहोरिने गरेको छ।

बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवले गाउँमा हात्तीलगायत वन्यजन्तु पस्नेबित्तिकै साइरन बज्ने गरेको बताए। यसले मानवीय क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। बाँके राष्ट्रिय निकुञ्जमा हाल नौ वटा जङ्गली हात्ती रहेको बताइएको छ। बस्ती सुरक्षित बनाउन तारबार गरिए पनि जङ्गलमा पर्याप्त आहार नपाउँदा हात्तीलगायत वन्यजन्तु बेला–बेलामा बस्तीमा प्रवेश गर्ने गरेको यादवले जनाए।