प्रधानमन्त्री बालेन शाहले अर्ग्यानिक कृषि क्षेत्रको विकासमा सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साउन ७ गते अर्ग्यानिक एसोसियसन नेपालका पदाधिकारीसँगको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।
प्रधानमन्त्री शाहले एसोसिएसनका पदाधिकारीले उठाएको मागप्रति सकारात्मक रहँदै नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो हुने गरेकाले सो माग राखिएको थियो।
प्रधानमन्त्रीले रासायनिक मल तथा विषादीको प्रयोग नियन्त्रण गर्दै देशमा अर्ग्यानिक कृषि प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारीलाई अनुदान दिने व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको बताइएको छ।
भेटमा पदाधिकारीहरूले अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणमा सरकारले दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान बन्द भएको भन्दै त्यसलाई सुचारु गर्न माग गरे। छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्षलगायत सहभागी थिए।
