मुख्य सामग्रीमा जानुहोस्

नक्कली आयुर्वेदिक औषधी बिक्री गर्ने पाँच जना पक्राउ, ठूलो मात्रामा तेल तथा औषधी बरामद

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा नक्कली आयुर्वेदिक औषधी बेच्ने र सप्लाइ गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट ठूलो परिमाणमा विभिन्न ब्रान्डका नक्कली औषधी तथा तेल बरामद गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

११पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

काठमाडौं उपत्यकामा नक्कली आयुर्वेदिक औषधी बेच्ने र सप्लाइ गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा प्युठानको झिमरुक गाउँपालिका–७ घर भएका २६ वर्षीय रामप्रसाद पोखरेल, ताप्लेजुङको श्रीगंगा गाउँपालिका–७ का २९ वर्षीय आइतमान ताम्लिङ लिम्बू, सोही ठाउँका ३३ वर्षीय उज्वल लिम्बू, ललितपुर महानगरपालिका–७ का ४२ वर्षीय सन्दीप महर्जन र नुवाकोटको विदुर नगरपालिका–२ का ४१ वर्षीय गोकर्ण अर्याल रहेको प्रहरीले जनाएको छ।

उनीहरूले उपत्यकाका विभिन्न भागमा नक्कली आयुर्वेदिक औषधी बिक्री गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए। पक्राउ परेकाहरूबाट ठूलो मात्रामा विभिन्न ब्रान्डका नक्कली आयुर्वेदिक औषधी तथा तेल बरामद गरिएको प्रहरीले बताएको छ।

उनीहरूविरुद्ध कालोबजारीको कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले बरामद गरेको नक्कली औषधीको परिमाण र मूल्यबारे थप विवरण सार्वजनिक गरिएको छैन।