मुख्य सामग्रीमा जानुहोस्

सरकारका कामकारबाहीले सशंकित बनाएको छ : माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले सरकारको काम गर्ने तरिका र व्यवहारले नागरिकलाई शंकित बनाएको बताएका छन्। बिहीबार काठमाडौंमा समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा उनले देश ठूलो…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारको कामकारबाही र व्यवहारले जनतालाई अत्यन्तै सशंकित बनाएको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारको शैलीले देश संकटमा पर्ने चिन्ता बढेको बताए।

नेता नेपालले भने, ‘सगरमाथाको देश नेपाल शान्तिपूर्ण रहिरहन सक्छ कि सक्दैन ? विदेशीहरूको हालीमुहाली चल्ने त होइन ? यी प्रश्नले नेपालीलाई चिन्तित बनाएको छ।’ उनले सरकारको बोली र व्यवहारले मानिसलाई सशंकित बनाइरहेको उल्लेख गरे।

नेकपाको भूमिकामा जोड

यस्तो अवस्थामा नेकपाले सजगता, तत्परता र पहलकदमी लिनुपर्ने आवश्यकता उनले औंल्याए। ‘हामी त्यत्तिकै तमासा हेरेर बस्न सक्दैनौं,’ उनले भने, ‘नेपाली जनताले कहिल्यै तमासा हेरेनन्, उनीहरूले चुनौतीको सामना गरे र इतिहासको धार बदले।’

नेपालले अहिलेको अवस्थामा देश निकै ठूलो द्वन्द्वतिर फस्ने होइन भन्ने चिन्ता पनि व्यक्त गरे। उनले प्रश्न गरे, ‘हाम्रो लोकतन्त्रमाथि गम्भीर संकट आउने त होइन ? संविधान धरापमा पर्ने त होइन ? संघीयता र गणतन्त्रविरुद्ध षडयन्त्र भइरहेको छैन ?’

उनले यी प्रश्नहरूको स्पष्टीकरण दिने जिम्मा सत्तामा रहेका दलको भएको बताए। ‘तर उनीहरूकै गतिविधिले आशंका उत्पन्न हुन्छ भने अरू पार्टीले कर्तव्य महसुस गर्ने कि नगर्ने ?’ उनले प्रश्न गरे। दुखको कुरा विभिन्न पार्टी आन्तरिक द्वन्द्वमा फसेको उनले बताए र ती द्वन्द्वबाट बाहिर निस्कन आग्रह गरे।

नेता नेपालले अन्य दललाई संविधान, देश र परिवर्तनलाई केन्द्रमा राखेर सोच्न आग्रह गरे।