नेपाल राष्ट्र बैंकले नेपाल आउने तथा बाहिर जाने नागरिकले नगद विदेशी मुद्रा ल्याउने र लैजाने सम्बन्धमा नयाँ स्पष्टीकरण दिएको छ। केन्द्रीय बैंकका अनुसार प्रतिव्यक्ति पाँच हजार अमेरिकी डलरसम्मको रकम भन्सार घोषणा नगरी नै ल्याउन वा लैजान सकिनेछ। यो व्यवस्था विदेशी विनिमय ऐन, २०१९ को दफा ५ र १२ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २९ क अनुसार गरिएको हो।
यसअघि पनि केन्द्रीय बैंकले २०७५ सालमा दुई पटक सूचना जारी गर्दै यही सीमा तोकेको थियो। बिहीबार पुनः जारी गरिएको सूचनामा भारतीय र नेपाली नागरिकका लागि भारतीय रुपैयाँको सीमा पनि तोकिएको छ। प्रतिव्यक्ति भारु २५ हजारसम्म ओसारपसार र सटही गर्न पाइनेछ। तर, सन् २०१६ नोभेम्बर ९ भन्दा अघि चलनचल्तीमा रहेका भारु ५०० र १००० दरका पुराना नोटको कारोबार भने प्रतिबन्धित रहने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।
नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन भने नपाइने व्यवस्था रहेको छ। पाँच हजार डलरभन्दा बढीको रकम भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने हुन्छ। राष्ट्र बैंकले प्रकाशन नगर्ने अन्य विदेशी मुद्राको हकमा पनि पाँच हजार डलर बराबरको सीमा लागू हुने जनाइएको छ।

