मुख्य सामग्रीमा जानुहोस्

बोलिभियामा पूर्वराष्ट्रपति मोरालेसविरुद्ध गिरफ्तारी आदेश, ‘राजनीतिक सतावट’ भन्दै विरोध

बोलिभियामा पूर्वराष्ट्रपति इभो मोरालेसविरुद्ध नयाँ गिरफ्तारी आदेश जारी भएको छ। उनले यसलाई राजनीतिक सतावट भन्दै खारेज गरेका छन् भने सरकारले पनि आफ्नो संलग्नता अस्वीकार गरेको छ। आन्दोलनका क्रममा २२ जनाको मृत्यु भएको थियो।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरालेसविरुद्ध फेरि एक पटक गिरफ्तारी आदेश जारी भएको छ। बुधबार सान्ता क्रुज क्षेत्रीय अभियोजन कार्यालयले उनलाई देशभर आन्दोलन र सडक अवरोध उक्साएको आरोपमा पक्राउ गर्न आदेश दिएको हो। यो आदेश पछिल्लो समयमा जारी भएको सबैभन्दा ठूलो कारबाही हो।

आरोप र प्रतिक्रिया

अभियोजन कार्यालयले मोरालेसमाथि सशस्त्र विद्रोह, आतंकवाद, यातायात सुरक्षामा आक्रमण, आपराधिक साझेदारी, सार्वजनिक रूपमा अपराध गर्न उक्साउने र सार्वजनिक सेवाको सुरक्षामा आक्रमणजस्ता ६ वटा मुद्दा लगाएको छ। यीमध्ये आतंकवाद र सशस्त्र विद्रोहको अभियोगमा कम्तीमा २० र ३० वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ। तर मोरालेसले यी सबै आरोपलाई निराधार भन्दै खारेज गरेका छन्।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै मोरालेसले भनेका छन्, ‘यो सरकारले हामीलाई जिम्मेवार ठहर्याएर बोलिभियाको वास्तविक समस्या—अर्थिक तथा सामाजिक संकट र भ्रष्टाचार—लाई ढाक्न खोजेको छ। हामी डराउने छैनौँ, जनतासँगै लडिरहनेछौँ।’

यसैबीच, सरकारका प्रवक्ता जोसे लुइस गाल्भेजले मोरालेसको आरोपलाई अस्वीकार गर्दै भने, ‘यो सरकारले गिरफ्तारी आदेश जारी गरेको होइन, यो न्यायिक प्रक्रिया हो।’ उनले मोरालेसलाई आफ्नो भूमिकाबारे स्पष्टीकरण दिनुपर्ने बताए।

पृष्ठभूमि र आन्दोलनको प्रभाव

यसअघि मे–जुन महिनामा भएको आन्दोलन र सडक अवरोधका कारण बोलिभियाका ठूला सहरहरू—जस्तै ला पाज र एल अल्टो—मा औषधि, इन्धन र खाद्यान्नको अभाव भएको थियो। त्यसबेला २२ जनाको मृत्यु, ८८ जना घाइते र ५७३ जना पक्राउ परेको मानवअधिकार आयोगको रिपोर्टमा उल्लेख छ। मरेकामध्ये अधिकांश सडक अवरोध पार गर्ने क्रममा दुर्घटनामा परेका थिए भने तीन जना प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा ज्यान गुमाएका थिए।

मोरालेसले आन्दोलनलाई वर्तमान सरकारको आर्थिक नीति, मुद्रास्फीति र इन्धन अभावविरुद्धको जायज प्रतिक्रिया बताएपनि सरकारले उनलाई देशलाई अस्थिर बनाउने प्रयासको आरोप लगाएको छ।

अघिल्लो गिरफ्तारी आदेश

यसअघि सन् २०२४ मा मोरालेसमाथि मानव बेचबिखन र ओसारपसारको आरोपमा पनि गिरफ्तारी आदेश जारी भएको थियो, जुन २०२५ को मध्यमा नवीकरण गरिएको थियो। यो आरोप उनले सन् २०१५ मा एक नाबालिगसँग अवैध सम्बन्ध राखेको र त्यसबाट छोरी जन्मेको भन्ने अभियोगमा आधारित छ। मोरालेसले त्यो पनि झुठो आरोप भन्दै अस्वीकार गर्दै आएका छन्।

यी दुवै मुद्दामा मोरालेसले अदालतमा उपस्थित हुन अस्वीकार गर्दै आफू कोकाक्षेत्र चापारेमा रहेको बताएका छन्। उनका समर्थकहरूले उनको सुरक्षाका लागि चौबीसै घण्टा मानव पर्खाल लगाएको जनाइएको छ। सरकारी प्रवक्ताले भने, ‘हामी मानवीय जीवनलाई जोखिममा राख्न चाहँदैनौँ।’