पाकिस्तानको ब्रोड पिक (८,०४७ मिटर) मा हिमपहिरो गएपछि बेपत्ता भएका नेपाली आरोहीहरूको खोज तथा उद्धारका लागि तत्काल कूटनीतिक पहल गर्न Expedition Operators' Association Nepal (EOA-Nepal) ले नेपाल सरकारलाई आग्रह गरेको छ ।
हिमपहिरो र बेपत्ता आरोही
EOA-Nepal ले शुक्रबार विज्ञप्ति जारी गर्दै कराकोरम क्षेत्रको ब्रोड पिक आरोहणका क्रममा प्रख्यात नेपाली आरोही निर्मल पुर्जा 'निम्सदाई' लगायतको आरोही टोलीसँग सम्पर्क टुटेकोमा गहिरो चिन्ता व्यक्त गरेको छ । संस्थाले सबै बेपत्ता आरोहीहरूको सुरक्षित उद्धार भई स्वदेश फर्काउने कामनासमेत गरेको छ ।
नेपालको अन्तर्राष्ट्रिय हिमाल आरोहण क्षेत्रको प्रतिष्ठालाई मध्यनजर गर्दै यो घटनामा नेपाल सरकारको तर्फबाट समन्वयात्मक, सक्रिय र प्रभावकारी प्रतिक्रिया आवश्यक रहेको EOAN ले बताएको छ ।
सरकारी निकायलाई सम्बोधन
विज्ञप्तिमार्फत EOAN ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई यस विषयलाई उच्च प्राथमिकतामा राखी सबै सम्बन्धित निकायसँग समन्वय गर्न आह्वान गरेको छ । त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घटनाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक रूपमा राख्नुपर्ने र सम्बन्धित संस्थाहरूसँग समन्वय गर्नुपर्ने माग संस्थाले गरेको छ ।
साथै, पर्यटन विभागले आरोहण टोलीबारे सम्पूर्ण सूचना संकलन तथा समेट्नुपर्ने र आवश्यकताअनुसार उद्धार प्रयासमा सहजीकरण गर्नुपर्नेमा EOAN ले जोड दिएको छ । परराष्ट्र मन्त्रालयलाई पनि पाकिस्तान सरकार र सम्बन्धित निकायसँग तत्काल कूटनीतिक संलग्नता गरी खोज तथा उद्धार कार्यमा उपलब्ध सबै साधन परिचालन गर्न आग्रह गरिएको छ ।
पाकिस्तानलाई अपिल
EOA-Nepal ले पाकिस्तान सरकार तथा त्यहाँका पर्वतीय पर्यटन संघसंस्थाहरूलाई पनि उद्धार प्रयासलाई थप तीव्र बनाउन आह्वान गरेको छ । बेपत्ता आरोहीको खोजी तथा उद्धारका लागि आवश्यक पर्ने कुनै पनि सहयोग उपलब्ध गराउन आफू तयार रहेको संस्थाले बताएको छ ।
यस घटनालाई केवल नेपाली आरोहीमा सीमित नराखी अन्तर्राष्ट्रिय पर्वतीय समुदायलाई प्रत्यक्ष असर पार्ने मानवीय चिन्ताको विषयका रूपमा लिनुपर्ने EOAN को भनाइ छ । बेपत्ता सबैको सुरक्षित उद्धारका लागि सबै पक्षबाट तीव्र र समन्वयपूर्ण कदम आवश्यक रहेको संस्थाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
