नेपाल प्रहरीले मोरङ र धनकुटामा छुट्टाछुट्टै कारबाही गर्दै एक टन ८ सय ३७ किलो गाँजा बरामद गरेको छ। दुवै प्रकरणमा तीन जना पक्राउ परेका छन्।
मोरङमा मिनीट्रकबाट गाँजा बरामद
मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेमा शनिबार सुरक्षा जाँचका क्रममा प्रहरीले मिनीट्रकबाट एक हजार ३३ दशमलव ४८४ किलो गाँजा बरामद गरेको हो। सिजुवा इलाका प्रहरी कार्यालयका प्रहरीले उर्लाबारीबाट अम्बारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनीट्रकलाई रोकेर जाँच गर्दा ३१ पोकामा लुकाइएको गाँजा फेला परेको थियो।
उक्त मिनीट्रकका चालक धनकुटाको पाख्रिवास नगरपालिका–९ का २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ। उनको बयानका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनकुटाको घरबाट थप गाँजा फेला
धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित जनता आवास कार्यक्रमअन्तर्गत निर्मित एउटा घरमा प्रहरीले ८ सय ४ किलो गाँजा फेला पारेको छ। प्लास्टिकका ४८ बोरामा भरिएको गाँजा घरको तलासीका क्रममा बरामद भएको हो।
यस प्रकरणमा छथर जोरपाटी गाउँपालिका–४ का करिब ४० वर्षीय हरिप्रसाद ओझा र चौबिसे गाउँपालिका–४ का ३४ वर्षीय आशिष विश्वकर्मालाई पक्राउ गरिएको छ। ओझा हाल चौबिसेमा होटल सञ्चालन गर्दै आएका छन्।
दुवै घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
