माइतीघरमा माइक्रोफाइनान्स पीडितहरूको आमरण अनशन शुक्रबार चौथो दिनमा प्रवेश गरेको छ। प्रहरीले बुधबार राति भारी वर्षाका बीच प्रदर्शनकारीहरूको अस्थायी आश्रय हटाइदिए पनि आन्दोलन जारी रहेको छ।
प्रदर्शनकारीका माग
आन्दोलनकारीहरूले वित्तीय शोषणको अन्त्य, सर्वोच्च अदालतले माइक्रोफाइनान्स पीडितका विवादसम्बन्धी आदेशलाई तुरुन्तै कार्यान्वयन गर्नुपर्ने, विशेष वित्तीय ऐन खारेज गर्नुपर्ने, गरिब तथा किसानलाई ब्याजरहित कर्जा उपलब्ध गराउनुपर्ने, न्यायोचित ज्याला सुनिश्चित गर्नुपर्ने र दीर्घकालीन रूपमा निजी वित्तीय संस्था नराख्ने लगायतका माग राखेका छन्।
अनशन जारी
प्रहरीले बुधबार राति ठूलो वर्षाको बीच प्रदर्शनकारीहरूको अस्थायी आश्रयस्थल जबरजस्ती हटाएको थियो। आश्रय हटेपछि प्रदर्शनकारीहरू त्रिपाल र छाताको सहारामा बाहिरै बसेका छन्। तैपनि, उनीहरूले आमरण अनशन जारी राखेका छन्।
