हिमाल आरोहणकै क्रममा पाकिस्तानको ब्रोड पिकमा निधन भएका निर्मल पुर्जा ‘निम्स दाइ’ले नेपाली पर्वतारोहण र साहसिक पर्यटनको परिचय नै बदलेका छन्। सन् २०१९ मा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल छ महिनामा आरोहण गरेर उनले विश्व कीर्तिमान राखेका थिए। यसअघि किम चाङ होले सात वर्ष १० महिनामा उक्त कीर्तिमान बनाएका थिए। निम्स दाइको यो कीर्तिमान भने पछि तोडिएको छ।
नाम नबताउने शर्तमा उनका निकट एक आरोहीले भनेअनुसार विगतमा नेपाली शेर्पालाई आरोही नभई भरियाका रूपमा मात्र हेरिन्थ्यो। निम्स दाइले नै शेर्पाहरूलाई आरोही बनाएर उनीहरूको सम्मान बढाइदिए। लामो समयदेखि गर्न नसकेको काम उनले केही वर्षमै गरेर देखाएको ती आरोहीको भनाइ छ।
निम्स दाइ विश्वप्रसिद्ध आरोही भए पनि उनको पहिचान रेकर्डभन्दा माथि थियो। उनले नेपालको साहसिक पर्यटनमा नयाँ मानक स्थापित गरे, जसका कारण विश्वका धेरै खर्चालु र उच्च प्रोफाइलका व्यक्तिहरू सगरमाथासहितका हिमाल चढ्न नेपाल आउन थाले। उनकै सहकर्मीका अनुसार उनले ल्याएका कतिपय आरोही काठमाडौंबाट हेलिकप्टरमा पिज्जा मगाएर आधार शिविरमै खान सक्ने क्षमताका थिए। कतारकी राजकुमारी शेख आश्मा अल थानीलगायत धेरै उच्चपदस्थ आरोहीलाई उनले सफल आरोहण गराएका थिए। उनी आफैं संस्थापक रहेको एलिट एक्सपिडिसनबाट आरोहण अभियान सञ्चालन गर्दै फिल्डमा नेतृत्व गर्थे।
पर्यटन क्षेत्रमा नयाँ मानक
नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार निम्स दाइले नेपाललाई नयाँ उचाइमा पुर्याए र असम्भवलाई चुनौती दिन युवा पुस्तालाई सिकाए। नेपालीहरू हिमालका सहयोगी मात्र नभएर नेतृत्वकर्ता हुन सक्छन् भन्ने पुष्टि निम्स दाइकै प्रयासबाट भएको उनको भनाइ छ।
काठमाडौं म्यारिअट होटलका संस्थापक शशिकान्त अग्रवालका अनुसार निम्स दाइको साहसिक छविले नेपाली पर्यटन उद्योगको ब्रान्ड मूल्य नै बढाएको थियो। पहिले प्रिमियम आरोही विदेशी ट्रेकिङ एजेन्सीमार्फत आउने गर्थे, तर निम्स दाइले यो व्यवसाय सुरु गरेपछि त्यो अवस्था फेरिएको उनले बताए। निम्स दाइले आफैं धेरै भीआईपी पर्वतारोहीलाई नेपाल भित्याए, स्काईडाइभिङजस्ता गतिविधि गराए र आफ्नै नाममा एक्सपिडिसन गियर उत्पादन तथा बजारीकरण गरेर पनि नयाँ बाटो खोले।
निम्स दाइले काठमाडौंको म्यारिअट होटल परिसरमा ‘निम्सदाइ स्टोर’ सञ्चालन गरेका थिए। त्यहाँ हिमाल आरोहणमा चाहिने सबै प्रकारका सामान पाइन्थ्यो। हेर्नकै लागि मात्र पनि नेपाल आउने आरोहीहरू त्यहाँ पुग्ने गरेको जानकारहरू बताउँछन्। तीन वर्षअघि ब्रान्ड लन्च गर्दा उनले वर्षौंको आरोहण अनुभवका आधारमा ती उत्पादन विकास गरिएको बताएका थिए। स्टोरको बिक्री रकमको पाँच प्रतिशत निम्स दाइ फाउन्डेसनमा जाने व्यवस्था गरिएको थियो।
प्रवर्द्धनदेखि सामाजिक कामसम्म
निम्स दाइले आफ्ना आरोहण अभियानका दृश्यहरूलाई डकुमेन्ट्रीका रूपमा उतार्दै नेपालको प्रचारप्रसारमा ठूलो भूमिका खेलेका थिए। उनको ‘बियोन्ड पसिबल’ पुस्तक विभिन्न अन्तर्राष्ट्रिय भाषामा प्रकाशित भइसकेको छ। नेटफ्लिक्समा ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री सार्वजनिक भएपछि नेपाल र हिमाल आरोहणको चर्चा अझै फैलिएको थियो। सन् २०२१ मा उनकै नेतृत्वमा भएको माउन्ट केटु आरोहणको अर्को डकुमेन्ट्री पनि सार्वजनिक गर्ने तयारी छ।
निम्स दाइले नेपालसहित बोलिभिया, एभरेस्ट र पोखरामा स्काइडाइभिङ सञ्चालन गर्ने, यसका लागि तालिम कार्यक्रम पनि चलाउने गरेका थिए। उनी युके स्पेसल फोर्समा रहँदा तालिमप्राप्त स्काइडाइभर बनेका थिए। तीन वर्षअघि आफैंले स्काइडाइभ गरी यो प्रडक्ट लन्च गर्दा नेपालको सुन्दरता विश्वलाई देखाउने लक्ष्य राखेको उनले बताएका थिए।
निम्स दाइ फाउन्डेसनमार्फत उनले कोभिड महामारी, पाकिस्तान बाढी र भूकम्पका बेला सहयोग पुर्याएका थिए। सगरमाथा सरसफाइमा पनि फाउन्डेसनले काम गरेको छ। हालै सगरमाथा आधार शिविर जाने बाटोमा पर्ने लोबुचेमा पोर्टर्स लज निर्माण गरी सञ्चालनमा ल्याइएको छ। यसअघि लोबुचेसम्म आरोही पुर्याएर भरियाहरू दुई घण्टा तल झरेर सुत्नुपर्ने बाध्यता थियो। निम्स दाइ फाउन्डेसनकै पहलमा बनेको उक्त लजले त्यहाँ पुग्ने भरियालाई ठूलो राहत दिएको बताइएको छ।
निम्स दाइ पछिल्लो समय हेलिकप्टर व्यवसायमा पनि आबद्ध भएका थिए। वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेका अनुसार उनी मुस्ताङ एयर प्रालिका अध्यक्ष थिए। ईश्वर लामिछानेको एकल स्वामित्व रहेको मुस्ताङ एयरमा उनले ५३ प्रतिशत सेयर लिएर यो व्यवसायमा प्रवेश गरेका थिए।
नेपालका लागि सपना र चिन्ता
निम्स दाइ नेपाली गाइड र पर्वतारोहीको अन्तर्राष्ट्रिय ब्रान्ड निर्माण, हिमाली पर्यटनलाई वर्षभरि चलायमान बनाउने र नेपाललाई विश्वकै उत्कृष्ट साहसिक गन्तव्य बनाउने चाहना राख्थे। तर नेपालको प्रशासनिक प्रणाली ढिलो र परम्परागत हुनुले भने उनलाई निराश बनाउने गर्थ्यो। अन्तर्राष्ट्रियस्तरमा तुरुन्तै सकिने सुधार नेपालमा किन वर्षौंसम्म अल्झिन्छन् भन्ने प्रश्न उनी निरन्तर उठाइरहन्थे।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले स्मरण गर्दै लेखेका छन् कि पाकिस्तान जानुअघि निम्स दाइ उनको कार्यकक्षमा पुगेका थिए। त्यसबेला निम्स दाइले नेपालमा विदेशी लगानीको वातावरण बनाउन आग्रह गर्दै साहसिक पर्वतीय पर्यटनको अपार सम्भावना रहेको बताएका थिए। काठमाडौंलाई सगरमाथासँग जोड्ने सुरक्षित सडक निर्माणको दृष्टिकोण पनि उनको थियो। सोही सोच आत्मसात गर्दै नेपाल सरकार काठमाडौं–सगरमाथा सडक निर्माणतर्फ अघि बढ्ने लम्सालको भनाइ छ।
निम्स दाइले नेपाल ब्याकप्याकर मात्र नभई संसारका धनाढ्यहरूकै लोकप्रिय गन्तव्य बन्न सक्ने सम्भावनाको ढोका खोले। उनी भने यही उत्साहका बीच पाकिस्तानको ब्रोड पिकमा अस्ताए। नेपालले उनले देखाएका सम्भावनालाई ठूलो वास्तविकतामा बदल्न सके त्यसबाट उनीप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुने बताइएको छ।
