इरानका सर्वोच्च नेता मोज्ताबा खामेनी सार्वजनिक रूपमा देखिएको लगभग पाँच महिना भइसकेको छ। यसैबीच अमेरिकी गुप्तचर एजेन्सी सीआईए र इजरायली गुप्तचर एजेन्सी मोसादले उनलाई खोज्ने क्रममा नयाँ रणनीति अपनाएका छन्। दुवै निकायले अब प्राविधिक निगरानीको सट्टा मानवीय गुप्तचर सञ्जाल (ह्युमन इन्टेलिजेन्स) प्रयोग गर्ने भएका हुन्।
इजरायली सञ्चारमाध्यमले द टाइम्स अफ लन्डनको साप्ताहिक प्रतिवेदनलाई उद्धृत गर्दै भनेका छन् कि मोज्ताबा खामेनीले करिब १५० दिनदेखि कुनै पनि डिजिटल उपकरण प्रयोग गरेका छैनन्। फोन, ल्यापटप, रेडियो वा डिजिटल सिग्नल उत्सर्जन गर्ने कुनै पनि वस्तु उनले हातमा नलिएको प्रतिवेदनमा उल्लेख छ।
सन् २०२६ फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता आयतुल्लाह खामेनी मारिएका थिए। सोही आक्रमणपछि मोज्ताबा खामेनी इरानको सर्वोच्च नेता नियुक्त भएका थिए। तर, त्यसयता उनी कतै पनि सार्वजनिक रूपमा देखिएका छैनन्।
कसरी भेटिएका थिए पूर्व सर्वोच्च नेता?
मोज्ताबाका बुबा अर्थात् तत्कालीन सर्वोच्च नेताको पत्ता लगाउन अमेरिका र इजरायलले लगभग सबै साइबर उपाय प्रयोग गरेका थिए। तेहरानका ट्राफिक क्यामेराहरू ह्याक गरेर सर्वोच्च नेताका सुरक्षाकर्मी र निकटवर्ती व्यक्तिहरूले प्रयोग गर्ने सवारी साधनहरूको पहिचान गरिएको थियो।
अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) र इजरायली समकक्ष युनिट ८२०० को समन्वयमा विकसित प्रविधिका आधारमा त्यस दिन अली खामेनी र उनका वरिपरि रहेका वरिष्ठ सैन्य तथा गुप्तचर अधिकारीहरू कहाँ थिए भन्ने यकिन गरिएको थियो। सोही जानकारीका आधारमा आक्रमण गरिएको र ती सबैको मृत्यु भएको बताइन्छ।
अब किन मानवीय खुफिया?
मोज्ताबाको खोजीका लागि सिग्नल इन्टरसेप्सन वा प्राविधिक निगरानी अब प्रभावकारी नहुने ठहर गरिएको छ। उनले कुनै पनि डिजिटल उपकरण प्रयोग नगरेपछि गुप्तचर निकायहरू मानवीय सञ्जालमा भर पर्न बाध्य छन्। यो विधि पुरानो तर जोखिमपूर्ण मानिन्छ। यसमा गुप्तचरहरूले आफ्नै आँखाले देखेको कुरा माथिल्लो निकायसम्म पुर्याउनुपर्ने हुन्छ र त्यस क्रममा उनीहरूको ज्यानसमेत जोखिममा रहन्छ।
पूर्व सर्वोच्च नेताको मृत्यु भएको हवाई आक्रमणमा मोज्ताबाको अनुहारमा चोट लागेको र त्यसले उनको अनुहार बिग्रिएको व्यापक अनुमान छ। उनलाई कुनै अमेरिकी जासूसी उपग्रहले चिन्न सक्ने डर रहेको समाचारमा उल्लेख छ। त्यसैले उनी भूमिगत रहेर अधिकारीहरूलाई निर्देशन दिइरहेको हुनसक्ने अनुमान गरिएको छ।
गुप्तचर क्षेत्रमा कार्यरत केही व्यक्तिहरूले मोज्ताबा यसअघि नै मरिसकेको र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले अमेरिकीविरुद्धको युद्धलाई न्यायोचित ठहर्याउन उनी जिउँदै रहेको देखाउने नाटक गरिरहेको दाबी पनि गर्ने गरेका छन्।
यदि मोसाद र सीआईए फेरि एकपटक उनको बासस्थान पत्ता लगाउन सफल भएमा यो मामिला राजनीतिक क्षेत्रमा प्रवेश गर्नेछ। जेरुसेलम र वाशिङ्टनका सुरक्षा प्रमुखहरूले सो जानकारीको उपयोग कसरी गर्ने भन्ने रणनीतिक निर्णय गर्नुपर्नेछ।
