मनसुन सुरु भएसँगै काठमाडौं उपत्यकाका मुख्य व्यावसायिक क्षेत्र जमलमा सामान्य वर्षामै सडक नदीजस्तो बन्ने गरेको छ। केही बेरको वर्षामा जलमग्न हुने यो क्षेत्रलाई माइतीघरपछि सहरी डुबानको अर्को संवेदनशील केन्द्र मानिन थालेको छ।
लाजिम्पाटकी वर्षा पाण्डेका लागि मनसुनको चिन्ता पानी पर्नुसँगै सुरु हुन्छ। घरबाट कार्यालय पुग्ने दैनिक यात्रामा उनलाई आकाशबाट पानी पर्यो कि भन्दा पनि ‘आज फेरि जमल डुब्ने त होइन’ भन्ने तनाव हुन्छ। ‘पानी परेपछि जमलको बाटो पार गर्नै डर लाग्छ, कहिलेकाहीँ स्कुटी नै पल्टिन्छ कि जस्तो हुन्छ,’ उनी भन्छिन्। यस्तै अनुभव मनमैजुकी मलिन न्यौपानेको पनि छ। वर्षामा घर फर्किने बेला उनको पहिलो चासो जमलको सडकको अवस्था नै हुने गरेको छ।
असन्तुलित जल प्रवाह नै मुख्य कारण
जमल क्षेत्रको डुबान समस्याको प्राविधिक अध्ययन गर्न गठित संयुक्त टोलीले असन्तुलित जलप्रवाह र निकास क्षमताको कमीलाई मूल कारण औंल्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)को संयोजकत्वमा काठमाडौं महानगरपालिका, सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्राविधिकको टोलीले स्थलगत अध्ययनपछि प्रतिवेदन तयार गरेको हो।
प्रतिवेदनअनुसार जमल क्षेत्रमा चार फरक दिशाबाट ठूलो परिमाणमा पानी भित्रिन्छ। ज्याठातर्फबाट ६० सेन्टिमिटर डाइमिटर पाइप, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर डाइमिटर पाइप, यल्लो प्यागोडा होटलतर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन परिसरबाट २० सेन्टिमिटर डाइमिटर पाइप हुँदै पानी आउँछ। यी सबैतर्फको कुल इनफ्लो क्षेत्रफल करिब ०.८२६ वर्गमिटर छ भने बाहिर निकास हुने पाइपको क्षमता ०.२८३ वर्गमिटर मात्र रहेको पाइएको छ। यही क्षमताको ठूलो अन्तरका कारण सामान्य वर्षामै पानी सडकमा थुप्रिने निष्कर्ष प्रतिवेदनले निकालेको छ।
टुकुचा खोलाको तहको समस्या
प्रतिवेदक तथा प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार जमलको ढल प्रणाली टुकुचा खोलामा मिसिन्छ। तर खोलाको सतह र ढल निकासको अन्तिम बिन्दुबीच उचाइको अन्तर निकै कम भएकाले खोलामा पानी बढ्नेबित्तिकै ढलको पानी बाहिर निस्कन सक्दैन। ‘खोलाको बहाव बढ्दा पानी उल्टै ढलभित्र फर्कने अवस्था सृजना हुन्छ,’ उनले भने। त्यस्तै, क्याचपिटहरूमा जमेको फोहर, बालुवा र गेग्रान तथा नियमित सफाइ नहुँदा पाइपको क्षमता घटेको पनि अध्ययनले देखाएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले माइतीघरमा देखिएको समस्या समाधानको काम अघि बढिरहेको र अनुभवलाई आधार बनाएर जमललगायत अन्य क्षेत्रमा पनि सुधारका कार्यक्रम सञ्चालन गरिने बताए। केयूकेएलका सूचना अधिकृत सन्तोष बरालले उपत्यकामा दीर्घकालीन ढल व्यवस्थापन र भूजल पुनर्भरणका लागि त्रिचन्द्र बहुमुखी क्याम्पसलगायत सार्वजनिक क्याम्पसमा पुनर्भरण प्रणाली स्थापना गरिएको जानकारी दिए।
तत्काल र दीर्घकालीन उपाय
प्राविधिक समितिले तत्काल सबै पाइपलाइन, म्यानहोल र क्याचपिट नियमित सफा गर्नुपर्ने, वर्षा पूर्वानुमानका आधारमा सवारी व्यवस्थापन गर्नुपर्ने, जमलदेखि केशरमहलसम्म थप क्याचपिट निर्माण गर्नुपर्ने र टुकुचा खोलाको सतह सफा गरी बहाव सहज बनाउनुपर्ने सुझाव दिएको छ। मध्यमकालीन रूपमा ६० सेन्टिमिटरको मुख्य निकास पाइप हटाएर ठूलो क्षमताको ट्रङ्क लाइन निर्माण गर्न, पानीलाई वैकल्पिक मार्गबाट डाइभर्ट गर्न र होटल, विद्यालय, सपिङ मल तथा निजी भवनमा वर्षाको पानी सङ्कलन–भूपुनर्भरण प्रणाली लागू गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
दीर्घकालीन रूपमा केयूकेएलले तयार पारेको कोर सिटी क्षेत्रको ढल पुनःस्थापनासम्बन्धी विस्तृत डिजाइन कार्यान्वयन गर्नुपर्ने र छुट्टै स्टर्म वाटर ड्रेनेज नेटवर्क निर्माण गर्नुपर्ने सुझाव समितिले दिएको छ। वर्षाको पानीलाई पूर्व–उपचारपछि पुनर्भरण वा जलाशयमा भण्डारण गर्ने सम्भावनाबारे पनि अध्ययन गर्नुपर्ने उपसचिव केसीले बताए।
सहरी डुबान बढ्दै जानुको कारण
भूगर्भविद् डा. सुबोध ढकालले अव्यवस्थित सहरीकरण, खुला जमिनको कमी र भूजल पुनर्भरणमा गिरावटका कारण उपत्यकामा सहरी डुबान बर्सेनि जटिल बन्दै गएको बताए। ‘वर्षालाई रोक्न सकिँदैन तर पानीलाई व्यवस्थापन गर्ने कुरा हाम्रो हातमा हुन्छ। मनसुन सुरु हुनुअघि नै ढल, नाला र खोलाको नियमित सरसफाइ भएको भए धेरै डुबान टार्न सकिन्थ्यो,’ उनले भने। उनका अनुसार हरेक घर र भवनमा वर्षाको पानी सङ्कलन र भूपुनर्भरणको व्यवस्था गर्न सके सामूहिक रूपमा डुबान नियन्त्रणमा ठूलो योगदान पुग्नेछ।
