बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा अहिले ‘मिस मेनुका: एक संवेदनशील यौनकर्मी’ नाटक मञ्चन भइरहेको छ। फ्रान्सेली नाटककार ज्याँ पल सार्त्रको ‘ला पुतान रेस्पेक्त्युज’मा आधारित यो नाटकलाई कल्पना घिमिरे नुरिस्सोँले नेपाली परिवेशमा रूपान्तरण गरेकी हुन् भने पवित्रा खड्काले निर्देशन गरेकी छन्।
कथाकी केन्द्रीय पात्र मेनुका एक यौनकर्मी हुन्, जो सत्य बोल्ने स्वभावकी छन्। तर सामाजिक दबाब र शक्तिशाली व्यक्तिहरूको प्रभावले उनी क्रमशः कमजोर हुँदै आफ्नै स्वतन्त्रता गुमाउँछिन्।
शक्ति र विभेदको कथा
नाटकमा विवेक जंग शर्मा सांसद जगनन्नाथ शर्माका छोरा र मोहनका दाइका रूपमा देखिन्छन्। उनी मेनुकाका ग्राहक पनि हुन्। जगनन्नाथ शर्मा सांसद तथा राजनीतिज्ञ हुन् र मीठो कुरा गरेर मानिसलाई प्रभावित पार्ने खुबी उनमा छ। उनकै भतिजा मोहनले रात्रीबसमा तराईका एक युवकको हत्या गरेको हुन्छ। तराईवासी दलित युवा अर्बिन्द पासवान त्यही घटनाका साक्षी हुन्छन् र जगनन्नाथको परिवारले हत्याको आरोप उनैमाथि लगाउँछ। आरोपबाट बच्न उनी मेनुकाको सहारा खोज्छन्। नाटकमा देखिने प्रहरी पात्रहरूको भूमिका भने जगनन्नाथको जालोलाई सहयोग गर्नेमै सीमित छ।
मोहनले हत्या गरेपछि समाजले कथा उल्ट्याइदिन्छ। तराईका युवकहरूले मेनुकालाई बलात्कार गर्न खोज्दा मोहनले सुरक्षाका लागि गल्तीवश हत्या गरेको भन्ने झुटो कथा सहजै स्वीकार गरिन्छ र सत्य गौण बन्छ। यसरी जातिवाद र व्यक्तिगत घृणा मात्र नभई कमजोरलाई अपराधी र शक्तिशालीलाई जोगाउने व्यवस्थित प्रणाली पनि नाटकले देखाउँछ।
पञ्चायतकालदेखि सार्त्रसम्म
नाटकको शीर्षकमै व्यंग्य छ। समाजले यौनकर्मीलाई हेय दृष्टिले हेर्छ, तर सांसद, उनका छोरा र प्रहरीजस्ता ‘सम्मानित’ देखिने पात्रहरू झुटो बोल्ने, हत्या लुकाउने र पैसा–आश्वासनले मान्छे किन्ने काम गर्छन्। यसले समाजमा कसलाई सम्मान दिने भन्ने निर्णय नैतिकताबाट नभई शक्तिबाट हुने देखाउँछ। कथाको अन्त्यतिर मेनुका विवेककी रखैल बन्न तयार हुन्छिन्, जसले कमजोर व्यक्तिले आफ्नो स्वतन्त्रता कसरी बिस्तारै बेच्दै जान्छ भन्ने झल्काउँछ।
यो नाटक करिब ४० वर्षअघि सुनिल पोखरेलको निर्देशनमा आरोहण शनिबार समूहले मञ्चन गरेको थियो। तत्कालीन पञ्चायतकालीन संवेदनशीलताका कारण त्यतिबेला यसलाई स्वेच्छिक रूपमा स्थगित गरिएको थियो। अहिले दर्शकको नाटक हेर्ने तरिकामा आएको बदलाव र विषयकै संवेदनशीलताका कारण शिल्पी थिएटरले पुनः मञ्चन गर्ने जिम्मा लिएको देखिन्छ।
सार्त्रले सन् १९४६ तिर यो नाटक लेखेका थिए। सन् १९३१ को स्कट्सबरो केसबाट प्रेरित भई लेखिएको यस नाटकमा नौ जना काला युवकमाथि दुई सेता यौनकर्मीहरूले बलात्कारको झुटो आरोप लगाएको घटना समेटिएको छ। नाटक लेख्नुअघि सार्त्रले अमेरिका भ्रमण गरी जातिवाद र रंगभेद प्रत्यक्ष देखेका थिए। विभिन्न देशमा मञ्चन भइसकेको यही नाटकको नेपाली रूपान्तरण हो ‘मिस मेनुका’।
मञ्चन, अभिनय र कमजोरी
नाटकको सेट मेनुकाकै कोठाका रूपमा भव्य र बहुउपयोगी देखिन्छ। कोठाबाहिरको संसार र अर्बिन्दको अवस्था देखाउन भिडियो प्रोजेक्टरको प्रयोग गरिएको छ, जुन कतिपय ठाउँमा उपयोगी त छ, तर कहिलेकाहीँ झिँजो लाग्न सक्छ। एउटै सेटमा कथा भनिएकाले लाइटको प्रयोग कम छ भने अडियोमा थप काम गर्नुपर्ने ठाउँ बाँकी देखिन्छ।
अभिनयका हिसाबले अर्बिन्द पासवानको भूमिकामा रूपेश मण्डल र जगन्नाथ शर्माको भूमिकामा प्रभाकर देव शर्मा उत्कृष्ट देखिन्छन्। कथा सुस्त हुने बेलामा उनीहरूको प्रवेशले नाटकमा रौनकता ल्याउँछ। मेनुकाको भूमिकामा सरिता गिरी र विवेकको भूमिकामा घिमिरे युवराज लामो समय मञ्चमा रहन्छन्। सिगरेट तान्ने दृश्यलाई बेवास्ता गर्ने हो भने उनीहरूको अभिनय दोहोर्याइजस्तो लाग्दैन, तर कतिपय संवाद बनावटी सुनिन्छन्। प्रहरीको भूमिकामा रहेका सुधीर बस्नेत र जनक थापाको अभिनय सामान्य छ।
समीक्षात्मक दृष्टिले हेर्दा नाटकमा केही वैचारिक कमजोरी छन्। अर्बिन्दको चरित्र नाटकभर लगभग मौन र निष्क्रिय छ। उसलाई पूर्ण पीडितका रूपमा मात्र देखाइएको छ, जसले कमजोर ठानिने समुदायको स्थान देख्न दिँदैन। नाटकले जुन विभेद उजागर गर्न खोज्छ, त्यही विभेद अर्बिन्दको चरित्रमाथि आफैंले गरेको देखिन्छ। मेनुकालाई पनि अन्त्यमा विवेकको यौन वस्तुका रूपमा छाडिएको छ। दमनमा परेका पात्रहरूले प्रतिरोध नै गर्न नसक्ने निराशावादी अन्त्यले दर्शकलाई झस्काउँछ तर समाधानको बाटो देखाउँदैन।
समग्रमा, नेपाली नाम, सामाजिक, राजनीतिक र सांस्कृतिक यथार्थलाई मूल कथासँग जोड्न खोजिएको यो नाटकले दर्शकलाई संवेदनशील बन्न प्रेरित गर्छ। १३ साउनदेखि सुरु भएको मञ्चन ६ भदौसम्म जारी रहनेछ।
