बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकारी आवास गणभवनलाई ‘जुलाई जनविद्रोह स्मारक संग्राहलय’ का रूपमा रूपान्तरण गरिएको छ । साउन २० गते बुधबार ढाकास्थित गणभवनमा सो स्मारक संग्रहालयको उद्घाटन भएको हो । सन् २०२४ को जुलाई–अगस्ट महिनामा भएको छात्र आन्दोलनमा ज्यान गुमाएका नागरिकको सम्झनामा उक्त संग्रहालय स्थापना गरिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री तारिक रहमानले ढाकाको शेर–ए–बांग्ला नगरस्थित गणभवनमा संग्रहालयको उद्घाटन गरेका हुन् । बुधबार परेको अगस्ट ५ कै दिन उद्घाटन कार्यक्रम राखिएको थियो । सन् २०२४ को सोही मितिमा शेख हसिनाले देश छाडेर भारत प्रवेश गरेकी थिइन् ।
गणभवनको रूपान्तरण
सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध सुरु भएको प्रदर्शन चर्किएपछि शेख हसिना सन् २०२४ अगस्ट ५ मा देश छाड्न बाध्य भएकी थिइन् । त्यसको तीन दिनपछि मोहम्मद युनुसले अन्तरिम सरकारका मुख्य सल्लाहकारका रूपमा जिम्मेवारी सम्हालेका थिए ।
युनुस नेतृत्वको अन्तरिम सरकारले नै गणभवनलाई संरक्षण गर्दै स्मारक संग्रहालय स्थापना गर्ने प्रक्रिया अघि बढाएको थियो । यसअघि प्रधानमन्त्रीको सरकारी निवासका रूपमा प्रयोग हुँदै आएको गणभवन अहिले स्मारक संग्रहालय बनेको हो ।
आन्दोलनका क्रममा १४ सय नागरिकको मृत्यु
संयुक्त राष्ट्र मानवअधिकार कार्यालयको फेब्रुअरी २०२५ को प्रतिवेदनअनुसार सन् २०२४ जुलाई १५ देखि अगस्ट १५ सम्मको अवधिमा भएको जुलाई जनविद्रोहका क्रममा १४ सय नागरिकको मृत्यु भएको थियो । सो प्रतिवेदनमा हसिना सरकारले सुरक्षा बलमार्फत प्रदर्शनकारीविरुद्ध अत्यधिक बल प्रयोग गरेको उल्लेख छ ।
शेख हसिना देश छाडेपछि गणभवनलाई स्मृतिस्थलका रूपमा विकास गर्ने काम भएको हो । जुलाई–अगस्ट आन्दोलनमा मारिएका नागरिकको सम्झनामा अब यो स्थलले काम गर्नेछ ।
