सिरहाको गोलबजारमा सुनसरी घटनापछि भएको आन्दोलनमा गणेश यादवको मृत्यु भएको थियो। यही घटनाको छानबिन गर्न गृह मन्त्रालयले खटाएको उच्चस्तरीय समितिले प्रारम्भिक अनुसन्धान सकेर काठमाडौं फर्किएको छ।
सो टोली तीन दिन सिरहामा बसेर तथ्य र प्रमाण संकलनमा जुटेको थियो। टोलीले सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गरेको समितिले जनाएको छ। समितिको नेतृत्व गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीले गरेका थिए।
टोलीमा गृह मन्त्रालयका उपसचिव तथा समितिका सदस्यसचिव कुलशेखर अर्याल पनि सहभागी थिए। उनका अनुसार टोलीले सिरहामा विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघ, समुदायका प्रतिनिधि, स्थानीयवासी, प्रत्यक्षदर्शी, सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको थियो।
धरानमा घाइतेको अवस्था बुझ्न टोली
छानबिन टोली आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न धरान पुगेको थियो। उपसचिव अर्यालले चिकित्सकको भनाइ उद्धृत गर्दै घाइतेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र दुई–तीन दिनभित्र अस्पतालबाट डिस्चार्ज गरिने जानकारी आएको बताए।
गृह मन्त्रालयले तोकेको समयसीमाभित्र प्रतिवेदन बुझाउने तयारी भइरहेको पनि अर्यालले जानकारी दिए।
घटनास्थल निरीक्षण र सर्वदलीय बैठक
सोमबार टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको थियो। मंगलबार बिहान गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठक राखेर राजनीतिक दलका प्रतिनिधिसँग जानकारी संकलन र छलफल गरिएको थियो।
त्यसपछि उद्योग वाणिज्य संघ गोलबजारका व्यवसायीसँग छलफल गर्दै टोलीले आन्दोलनका क्रममा भएको क्षति, घटनाको पृष्ठभूमि र व्यवसायीका गुनासो सुनेको थियो। मुस्लिम समुदायका प्रतिनिधिसँग छुट्टै छलफल गरी घटनाको कारण, प्रभाव र सामाजिक सद्भाव कायम गर्ने उपायबारे पनि विचारविमर्श भएको बताइएको छ।
व्यवसायिक संरचना तथा सम्पत्तिमा भएको क्षतिको विवरण स्थानीय प्रशासन र जिल्ला प्रशासन कार्यालयले संकलन गरिरहेको उपसचिव अर्यालले जानकारी दिए। यसैबीच गोलबजार घटनापछि गृहमन्त्री सुधन गुरुङ मृतक गणेश यादवको घरमै पुगेर परिवारलाई भेटेका थिए। उनले घटनाको निष्पक्ष छानबिन गर्ने र दोषीउपर कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
