झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी क्षेत्रमा सञ्चालनमा रहेका अधिकांश व्यवसाय कानुनसम्मत नभएको पाएको छ। सो क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर र सैलुनमध्ये धेरै बिनादर्ता तथा आवश्यक कागजातविहीन रूपमा चलिरहेको गाउँपालिकाको भनाइ छ।
बुधबार गरिएको अनुगमनपछि गाउँपालिकाले ती व्यवसायलाई आगामी २५ गतेभित्र दर्ता भई प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। साथै मूल्यसूची, होल्डिङ बोर्ड र बिल–रसिदसहितका कानुनी कागजात पनि सोही अवधिभित्र पालिकामा बुझाउन भनिएको छ।
बजार व्यवस्थित बनाउने दाबी
अनुगमन टोलीको नेतृत्व गरेकी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले बजारलाई व्यवस्थित बनाउने र उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले अनुगमन अभियानलाई निरन्तरता दिइने बताइन्। “बजारलाई व्यवस्थित बनाउँदै सबै व्यवसायलाई कानुनी दायराभित्र ल्याउनु हाम्रो उद्देश्य हो,” उनले भनिन्।
तोकिएको समयभित्र दर्ता र आवश्यक प्रक्रिया पूरा नगर्ने व्यवसायमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने गाउँपालिकाले जानकारी दिएको छ।
अनुगमन टोली
उपाध्यक्ष मैनालीको नेतृत्वमा रहेको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, सुरक्षाकर्मी र स्थानीय उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूको सहभागिता थियो।





