चलचित्र ‘झिँगेदाउ २’को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित एक कार्यक्रममा टिजर रिलिज गरिएको हो।
एक मिनेट ५१ सेकेन्ड अवधिको टिजरमा पारिवारिक सम्बन्धका उतारचढावलाई देखाइएको छ। देउरानी र जेठानीबीचको घरेलु द्वन्द्व पनि टिजरमा समेटिएको छ। टिजरको सुरुमा हिउँवाला गौतम मध्यरातमा घर छोडेर हिँडेको देखाइएको छ भने त्यसपछि आमाको खोजीमा परिवारका सदस्यहरू लागेको दृश्य देख्न सकिन्छ।
पहिलो भागकै कथावस्तुको झल्को दिने गरी टिजर तयार पारिएको छ। तर, टिजरमा केही नयाँ ट्वीस्ट पनि राखिएको छ। आर्यन सिग्देल साङ्लो बेरिएको अवस्थामा देखिनुले कथामा नयाँ मोड आउने संकेत गरेको छ।
देउरानी–जेठानी र कलाकारहरू
यो चलचित्र ‘झिँगेदाउ’कै सिक्वेल हो। यसमा आँचल शर्मा र केकी अधिकारी देउरानी–जेठानीको भूमिकामा रहेका छन्। महेश त्रिपाठी र कुशल बिष्ट भने दाजुभाइको भूमिकामा देखिनेछन्। यसैगरी, चलचित्रमा सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय पनि छ।
निर्माण टोली र प्रदर्शन मिति
ज्ञानेन्द्र देउजाले निर्देशन गरेको चलचित्रको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन्। गोविन्द फुयाल र शिशिर चालिसेले कथा लेखेका हुन्। चलचित्रमा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको छ। कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’ डीओपी, मित्र डी गुरुङ सम्पादक, अर्जुन पोखरेल संगीतकार र रामजी लामिछाने कोरियोग्राफरका रूपमा जोडिएका छन्। रोशन श्रेष्ठले एक्सन निर्देशन गरेका छन् भने प्रोडक्सन म्यानेजमेन्ट ईश्वर घिमिरेको रहेको छ।
यसअघि ‘झिंगे दाउ’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो। यही सफलतापछि निर्माण भएको ‘झिँगेदाउ २’को टिजरलाई रिलिज कार्यक्रममा उपस्थित फिल्मकर्मीहरूले प्रशंसा गरेका थिए। पारिवारिक कथावस्तुले दर्शकको मन जित्ने विश्वास गरिएको छ।
चलचित्र आगामी असोज २ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ। एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।
