केही महिनाअघि एकजना बुबा अचानक बेहोस भएर आकस्मिक कक्षसम्म पुग्नुभयो। त्यसक्रममा गरिएको ईसीजी जाँचमा उहाँको मुटुको धड्कन प्रतिमिनेट ३० मात्रै देखियो, जबकि रक्तचाप पनि कम थियो।
बिरामीलाई तुरुन्तै क्याथ ल्याबमा लगियो र अस्थायी पेसमेकर राखियो। यसपछि उहाँको अवस्था केही सुधार भयो। दोस्रो दिन मुटुको धड्कन बढाउने तारजडित यन्त्र अर्थात् स्थायी पेसमेकर प्रत्यारोपण गरियो।
बिरामी र परिवारको अनुभव
पूर्ण रूपमा सहज भएपछि बिरामीसँग कुराकानी गरिएको थियो। उहाँले केही दिनदेखि अचानक थकान महसुस हुने र चक्कर लाग्ने समस्या रहेको बताउनुभयो। उहाँका छोराका अनुसार केही दिनअघि बुबा अचानक बेहोस हुँदा पूरै शरीर पसिनाले भिजेको थियो र त्यही दिनदेखि समस्या सुरु भएको थियो।
मुटुमा ब्लक भएका कारण मुटुको धड्कन कम भएको पाइयो। तर, रामबहादुर दाइको सन्दर्भमा जस्तै यहाँ पनि बिरामीले आफ्नो मुटुले दिएको संकेत बुझ्न सकेनन्।
संकेतलाई बेवास्ता गर्दा जोखिम
स्वास्थ्य समस्यालाई ‘भोलि गरौंला’ भनेर पछि सार्ने र सामान्य ठान्ने प्रवृत्तिले कहिलेकाहीँ ठूलो जोखिम निम्त्याउन सक्छ। थकान, चक्कर र अत्यधिक पसिनाजस्ता लक्षण देखिँदा मुटुको समस्या लुकेको हुन सक्ने यो घटनाले देखाएको छ।





