मुख्य सामग्रीमा जानुहोस्

‘क्याट्सआई’की प्रमुख गायिका सोफियाले लिइन् अस्थायी विश्राम, ६ महिनामै दोस्रो सदस्यको ब्रेक

फिलिपिनो–अमेरिकी मूलकी २३ वर्षीया गायिका सोफियाले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै केही समयका लागि समूह छाड्ने निर्णय गरेकी हुन्। कम्पनीका अनुसार सेप्टेम्बरमा स्वास्थ्य अवस्थाको पुनः मूल्यांकनपछि मात्र ब्यान्ड…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

लन्डन — अन्तर्राष्ट्रिय रूपमा चर्चित गर्ल ग्रुप ‘क्याट्सआई’की प्रमुख गायिका तथा फिलिपिनो–अमेरिकी मूलकी २३ वर्षीया सोफिया लाफोर्टेजाले मानसिक स्वास्थ्य समस्याकै कारण ब्यान्डबाट अस्थायी विश्राम लिने घोषणा गरेकी छन्। यससँगै छ महिनाको अवधिमा ‘क्याट्सआई’बाट अलग हुने उनी दोस्रो सदस्य बनेकी छन्।

गत फेब्रुअरीमा ब्यान्डकै गायिका मानोन ब्यानरम्यानले मानसिक स्वास्थ्यलाई कारण देखाउँदै समूहबाट केही समय टाढा रहने निर्णय गरेकी थिइन्। दुई सदस्यले लगातार विश्राम लिएपछि सांगीतिक क्षेत्रमा सेलिब्रेटीको मानसिक स्वास्थ्य र निजत्वको विषय फेरि बहसमा आएको छ।

अनलाइन ट्रोलिङ र धम्कीपछि तनाव

ब्यान्ड सदस्यहरूले सांगीतिक क्षेत्रमा डेब्यु गरेदेखि नै इन्टरनेटमा विभिन्न किसिमका ज्यान मार्ने धम्की सामना गर्दै आएको बताइएको छ। बारम्बार अनलाइन ट्रोलिङ हुँदा मानसिक तनाव बढेपछि उनीहरूले आराम लिनुपरेको भनाइ छ।

साताअघि पप गायिका एरियाना ग्रान्डेले पनि बडी सेमिङका कारण सार्वजनिक जीवनबाट विश्राम लिने घोषणा गरेकी थिइन्। यी घटनाले गायिकाहरूको निजत्वमाथि लगातार भइरहेको बुलिङ र त्यसले पुर्‍याउने मानसिक क्षतिबारे नयाँ बहस सुरु गरेको छ।

कम्पनीद्वारा आधिकारिक जानकारी

सांगीतिक कम्पनी ‘हाइव बाई गेफेन रेकर्ड्स’ले आधिकारिक विज्ञप्ति जारी गर्दै सोफिया ब्यान्डको आगामी प्रोमोसनल गतिविधिमा सहभागी नहुने जानकारी दिएको छ। ‘क्याट्सआई’का फलोअर्सलाई आइकोन्स भनेर चिनिन्छ।

कम्पनीको भनाइमा सोफियाको मानसिक स्वास्थ्य र भलाइलाई प्राथमिकता दिनु आवश्यक छ। चिकित्सकहरूको सल्लाहअनुसार उनलाई पूर्ण रूपमा स्वस्थ हुन लामो आराम र नियमित उपचार चाहिने कम्पनीले जनाएको छ। सेप्टेम्बरमा उनको स्वास्थ्य अवस्थाको पुनः मूल्यांकन गरेपछि मात्र थप कुरा तय हुने बताइएको छ।

सोफियाको भनाइ र ब्यान्डको अवस्था

इन्स्टाग्राममा सोफियाले आफ्नो निर्णय सजिलो नभएको बताउँदै अहिले स्वास्थ्य नै सबैभन्दा ठूलो प्राथमिकता रहेको उल्लेख गरेकी छन्। उनले भनेकी छन्, ‘यदि मैले अहिले नै मन र तनको ख्याल गरिनँ भने रुचाएको कामलाई लामो समयसम्म निरन्तरता दिन सक्दिनँ।’ आरामपछि टोलीमा अझ सशक्त भएर फर्किने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।

सन् २०२३ मा छ जना सदस्य मिलेर गठन भएको ‘क्याट्सआई’ले ‘नार्ली’, ‘पिंकी अप’ र ‘गाब्रिएला’जस्ता हिट गीत दिइसकेको छ। गत वर्ष दुईवटा ग्रामी अवार्डमा मनोनयन पनि पाएको यो समूहका बाँकी चार सदस्यले भने सांगीतिक गतिविधि निरन्तर अघि बढाउनेछन्।