सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले अब महिनामा कम्तीमा एक दिन अनिवार्य रूपमा पार्टीको केन्द्रीय कार्यालय पुगेर नागरिक तथा पार्टीका नेता, कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने भएका छन्। रास्वपाले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक कार्यक्रम सुरु गर्न लागेको हो।
पार्टीका सहमहामन्त्री तथा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले आइतबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिए। उनका अनुसार यो कार्यक्रमले जनताका आवाजलाई नीति निर्माणको तहसम्म जोड्न मद्दत गर्नेछ, साथै जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकासमा सहयोग पुर्याउनेछ।
दुई चरणमा हुने संवाद
कार्यक्रमलाई दुई चरणमा अघि बढाइनेछ। पहिलो चरणमा मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालयमा साँझ ५ देखि ६ बजेसम्म उपस्थित रहनेछन्। त्यस अवधिमा आम नागरिकले आफ्ना गुनासा, समस्या, अपेक्षा र सुझाव सिधै मन्त्रीसमक्ष राख्न पाउनेछन्।
दोस्रो चरणमा साँझ ६ बजेपछि मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य र प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ। उक्त बैठकमा नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा छलफल हुने बताइएको छ।
जनताको आवाज नीतिसम्म पुर्याउने लक्ष्य
सहमहामन्त्री शाहका अनुसार भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्याउने पुलको काम यसले गर्नेछ। निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुलाई लोकतन्त्रको मर्म मानेर पार्टीले यो कार्यक्रम अघि सारेको उनले जानकारी दिए।
रास्वपाले यस कार्यक्रमबाट साझा रणनीति निर्माण, जवाफदेहिताको प्रवर्धन, यथार्थपरक नीति निर्माण र प्रभावकारी समन्वयमा सहयोग पुग्ने अपेक्षा लिएको छ।






