भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ढोरपाटन सिकार आरक्षमा पर्यटकको संख्या बढाउने सरकारको लक्ष्य रहेको र त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गरिने बताएका छन्। आइतबार ढोरपाटन पुगेका उनले सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक कालोपत्रेको प्रक्रिया यसै वर्ष अघि बढाइने जानकारी दिए।
मन्त्री लम्सालले ढोरपाटन सिकार आरक्ष प्राकृतिक रूपमा आकर्षक रहेकाले यहाँ स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने बताए। उनले पहिला सडक निर्माण सम्पन्न गरी यात्रा सहज बनाउने र त्यसपछि अन्य पूर्वाधारका काम अघि बढाउने योजना रहेको जानकारी दिए। सडकले पश्चिम क्षेत्रका पहाडी जिल्लाको आर्थिक अवस्था परिवर्तन गर्ने उनको भनाइ छ।
मन्त्री लम्साल शनिबार रुपन्देहीको सालझन्डीबाट सडकको अनुगमन सुरु गरी सन्धिखर्क र गुल्मीको मदाने हुँदै बाग्लुङको ढोरपाटन पुगेका थिए। उनले यसका लागि आवश्यक बजेटको कमी नहुने दाबी गरे।
बाँकी खण्डको कालोपत्रे र ठेक्का
रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी र बाग्लुङ जोड्ने सो सडकको कुल लम्बाइ १९७ किलोमिटर छ। यसमध्ये १५ किलोमिटर मध्यपहाडी लोकमार्गअन्तर्गत पर्छ। रुपन्देहीमा ५, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बाग्लुङमा ५० किलोमिटर सडक रहेको छ।
सडकको १४० किलोमिटर खण्ड अझै कालोपत्रे हुन बाँकी छ। यसै वर्ष कालोपत्रेका लागि टेन्डर आह्वान गरी निर्माण कार्य तीव्र पारिने मन्त्री लम्सालले बताए। सडक योजना प्रमुख गागलबहादुर भण्डारीका अनुसार अहिलेसम्म ४९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। निर्माण सुरुका बेला ८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सो सडकको लागत पछि बढेर ११ अर्ब रुपैयाँ पुगेको छ।
योजनाको इतिहास
तत्कालीन सरकारले २०६५ सालमा नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनसम्म छोटो दूरीको सडक निर्माणका लागि बहुवर्षे योजना अघि सारेको थियो। सडकको रेखांकन भने २०१५ सालमै तत्कालीन कांग्रेस नेता काशीनाथ गौतमले गरेका थिए। २०६४ सालमा अर्घाखाँचीबाट सांसद निर्वाचित टोपबहादुर रायमाझीले बजेट पारेर निर्माण थालेका थिए।
योजनाको महत्वबारे अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसाल र गुल्मीका सागर ढकालले मन्त्री लम्साललाई जानकारी गराउँदै थप बजेटमा प्राथमिकता दिएर योजना छिटो सम्पन्न गर्न सुझाव दिएका छन्।
पर्यटन र आर्थिक सम्भावना
सडक पूरा भएपछि तराई र पहाडबीचको दूरी छोटिने र पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ। सडक योजना प्रमुख भण्डारीले यसले यात्रा सहज बनाउँदै क्षेत्रको आर्थिक समृद्धिमा सहयोग पुर्याउने बताए। उनका अनुसार पर्यटनबाट स्थानीयले स्वरोजगारी पाउनुका साथै आर्थिक र सामाजिक रूपमा यस क्षेत्रको अवस्था बदलिने छ।
उनले एकै दिनमा हिमाल, पहाड र तराईको भ्रमण गर्न सकिने यो सडकले उत्पादनको आदानप्रदानमा समेत सहयोग पुग्ने बताए। यसबाट स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्ने उनको भनाइ छ।
बाग्लुङको ढोरपाटन प्राकृतिक सौन्दर्य, जैविक विविधता र सिकार पर्यटनका लागि महत्वपूर्ण गन्तव्य मानिन्छ। रुकुम, बाग्लुङ र म्याग्दीका केही भागमा फैलिएको सिकार आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर र १६४ प्रजातिका चरा पाइन्छन्। यहाँ ४० भन्दा बढी होटल तथा होमस्टे सञ्चालनमा छन्।






