मुख्य सामग्रीमा जानुहोस्

गोरखा संग्रहालयमा तोपसँगै गोला प्रदर्शनीमा

गोरखा संग्रहालयमा आगन्तुकका लागि पुराना तोपसँगै गोला हेर्ने अवसर थपिएको छ । पल्पास्थित नेपाली सेनाको द फेमस महेन्द्र दल गणसँगको समन्वयमा ३० थान गोला प्रदर्शनीमा राखिएका हुन् । संग्रहालय अपाङ्गमैत्री पनि बनेको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

गोरखा संग्रहालय घुम्न आउने आगन्तुकले अब तोपका गोलासमेत नियालेर हेर्न पाउने भएका छन् । संग्रहालयको मूल ढोकामा राखिएका दुई पुराना तोपको नजिकै ३० थान गोला राखेर प्रदर्शनको व्यवस्था मिलाइएको छ ।

पल्पास्थित नेपाली सेनाको द फेमस महेन्द्र दल गणसँगको समन्वयमा ती गोला संग्रहालयमा ल्याइएको संग्रहालय प्रमुख जयनारायण कार्कीले बताए । उनका अनुसार तोपको गोला कस्तो देखिन्छ भन्ने प्रश्न आगन्तुकहरूले बारम्बार सोध्ने गरेका थिए । सोही जिज्ञासा मेटाउन र तोपबारे जानकारी दिन प्रदर्शनीमा गोला राखिएको हो ।

अपाङ्गमैत्री बन्दै संग्रहालय

संग्रहालयलाई अपाङ्गमैत्री बनाउने कामसमेत भएको छ । मुख्य प्रवेशद्वारदेखि संग्रहालय चोकसम्म अपाङ्गमैत्री संरचना निर्माण गरिएको कार्कीले जानकारी दिए । सिँढी भएका स्थानमा फलामे चेम्बर र ह्विलचियर चल्न मिल्ने बाटो बनाइएको छ । श्रव्यदृश्य कक्षसम्म ह्विलचियरबाटै पुग्न सकिने व्यवस्था मिलाइएकाले माथिल्लो तल्लामा राखिएका सामग्री पनि अवलोकन गर्न सकिने उनको भनाइ छ ।

आगन्तुक र विद्यार्थीको रोजाइ

संग्रहालय अवलोकन गर्न आउने आगन्तुकको संख्या हरेक वर्ष बढ्दै गएको छ । गोरखा राज्य स्थापनाको इतिहास बुझ्न विद्यार्थीहरू यहाँ शैक्षिक भ्रमणका लागि आउने गर्छन् । संग्रहालय २०६५ जेठ १९ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।

संग्रहालयभित्रका आकर्षण

संग्रहालयभित्र कलात्मक भाडावर्तन कक्ष, जातजाति कक्ष, शाहवंशीय राजाहरूको परिचयात्मक कक्ष र तैलचित्र कक्ष राखिएका छन् । यस्तै पृथ्वीनारायण शाहको जन्मकुण्डली तथा दिव्योपदेश कक्ष, नेपाल एकीकरणका क्रममा प्रयोग भएका हातहतियार, पृथ्वीनारायण शाहले स्थापना गरेका पाँच सैन्य कम्पनी तथा सिंहासन कक्ष पनि छन् ।

पुष्पिका वाक्य तथा लालमोहर कक्ष, धार्मिक तथा परम्परागत भाडावर्तन कक्ष, लिच्छवी चैत्य कक्ष र लोकबाजा प्रतिमूर्ति कक्षले पनि संग्रहालयको आकर्षण बढाएका छन् ।