सप्तकोसी नदीको पश्चिमी भँगालोमा देखिएको बहाव परिवर्तनपछि नदीले किनारा काट्न थालेको २० दिन भइसकेको छ। यही अवधिमा सुनसरीको बराहक्षेत्र नगरपालिकाका ६ र ९ नम्बर वडा तथा उदयपुरको बेलका नगरपालिकाका १, २ र ३ नम्बर वडा उच्च जोखिममा परेका छन्।
बराहक्षेत्र-६ की सुखी चन्द्रवंशीले तीन वर्षअघि पनि सप्तकोसीले कटान गर्दा ३०/३५ घर पश्चिमतिर सरेको स्मरण गरिन्। उनका अनुसार यसपटकको कटान त्यतिबेलाको भन्दा निकै बढी हो र नदी पश्चिमतिरै बगिरहेको छ। पहिले कोसी अहिलेको पश्चिमी भँगालो भएको स्थानभन्दा करिब दुई किलोमिटर पश्चिमबाट बग्ने गरेको उनी बताउँछिन्।
पुरानो धारतर्फ फर्किंदै सप्तकोसी
२०४५ सालअघि सप्तकोसीको दुवै किनारमा तटबन्ध थिएन र नदी पश्चिमतिरै बग्थ्यो। त्यतिबेला श्रीलंका टापुको अस्तित्व थिएन। नदी पूर्वी र पश्चिमी भँगालोमा बग्न थालेपछि बीचमा टापु बनेको हो। पुराना जानकारहरूका अनुसार २०४५ सालको भूकम्पपछि सप्तकोसीले धार बदलेर पूर्वतिर बग्न थालेको थियो। पछिल्ला वर्षहरूमा पूर्वी तटबन्ध क्षेत्र नै बढी जोखिममा देखिन्थ्यो।
२०६५ भदौ २ गते अहिलेको कोसी गाउँपालिका-३ पश्चिम कुसाहाबाट पूर्वी तटबन्ध भत्काएर कोसी मानव बस्तीमा पसेको थियो। त्यसबेलाको वितण्डापछि पनि नदीले पश्चिमतिरै धार बदल्न खोजेको स्थानीयहरू बताउँछन्। बराहक्षेत्र-६ कै सुशीला चन्द्रवंशीका अनुसार नदीले आफूहरूको नम्बरी जग्गा बगाएपछि पश्चिमतिर सरेर ऐलानी जग्गामा बसोबास गर्दै आएका छन्। फेरि पुरानै धारमा फर्कियो भने अझ बिचल्ली हुने उनको भनाइ छ।
श्रीलंका टापुमा २२ सय घरधुरी
बराहक्षेत्र-६ कै लीलादेवी चन्द्रवंशीका अनुसार बेलकाको डुम्रिबोटदेखि बराहक्षेत्र-९ को तल्लो सिमानासम्म करिब १० किलोमिटर क्षेत्र जोखिममा छ। २०७९ साउन अन्तिमतिर कोसी डुम्रीबोटबाट धार परिवर्तन गरी पश्चिमतिरका बस्तीमा पस्दा बराहक्षेत्रका ६ र ९ नम्बर वडासँगै बेलकाका केही वडाका मानिस विस्थापित भएका थिए।
सप्तकोसीको पूर्वी र पश्चिमी भँगालोबीच रहेको श्रीलंका टापुको बस्तीमा करिब दुई हजार दुई सय घरधुरी रहेको बराहक्षेत्र नगरपालिकाले जनाएको छ। बेलका-२ शान्तिगर टोल विकास संस्थाका कविराज विकका अनुसार नदीले धार बदलेर बस्ती पसे सबैभन्दा बढी असर श्रीलंका टापुका बासिन्दालाई पर्नेछ। टापुबासी कृषि र पशुपालनमा निर्भर छन्। टमाटर, मकै, खुर्सानी, भिन्डी र मुलाको उत्पादनबाट आर्थिक अवस्था सुधारिएकाले उनीहरू अन्यत्र सर्न चाहँदैनन्।
रोकथामका प्रयास
श्रीलंका टापुका बस्ती जोगाउन केही साताअघि दुवै नगरपालिकाको सहयोगमा स्थानीयले श्रमदान गरी तारजाली लगाएका थिए। स्थानीय मुस्कान राईका अनुसार सोही अवधिमा सुनसरीको कप्तानगन्जमा दुई समूहबीचको झडप हिंसात्मक बनेपछि सेना र प्रहरीको ध्यान त्यतै केन्द्रित हुँदा कटान रोकथामको काम प्रभावित भएको थियो।
स्थानीय श्रमदानबाट मात्र नदी रोक्न नसकिने अवस्था आएपछि अब सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना विराटनगरले आकस्मिक रोकथामको काम थाल्ने भएको छ। आयोजनाका कार्यालय प्रमुख राजेन्द्रप्रसाद देवले नदीलाई पूर्वतिर फर्काउन अस्थायी संरचना निर्माण गरिने बताए।
बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की पश्चिमतिर जमिन होचो भएकाले त्यतातिर कटान बढेको बताउँछन्। कटान नियन्त्रण गर्न नसके बस्ती इतिहासमा मात्र सीमित हुने उनको चिन्ता छ। स्थानीय स्रोतसाधनले भ्याएसम्म काम भइरहे पनि संघीय र प्रदेश सरकारको साथ नपाएसम्म दिगो नियन्त्रण सम्भव नहुने उनको भनाइ छ।
वर्षामा थप जोखिम
२०८१ असोज १२ र १३ गते पानीको बहाव बढेका बेला कोसी बस्तीमा प्रवेश गरेको थियो। हाल पूर्वी र पश्चिमी भँगालोमा आधा–आधा जस्तो पानी छ। स्थानीय अगुवा बद्रीकुमार राईले नदीको पानी पश्चिमतिर बढी भए त्यतातिरै बढी क्षति हुने निश्चित रहेको बताए।
स्थानीयको नजिकको केन्द्र भागलपुर हो। हिउँदमा पश्चिमी भँगालो लगभग सुक्ने भएकाले आवतजावत सहज हुने गर्छ। तर वर्षामा दुवै भँगालोबाट पानी बढ्दा कोसी बस्ती नजिकै पुग्ने र डुंगाबाहेक पार गर्ने विकल्प नहुने स्थानीय बताउँछन्।
टापुका बासिन्दाले पहिले कठिन जीवन बिताए पनि अहिले बिजुली र सुरक्षाको व्यवस्था पाएका छन्। तैपनि बर्खामा कोसीको गर्जनसँगै उनीहरू त्रासमा बस्ने गरेका छन्।





