पृथ्वीको इतिहासमा ‘मियोसिन इपक’ भनेर चिनिने करिब २३ देखि ५३ लाख वर्षअघिको समयमा ठूला जङ्गलहरू टुक्रिएर झाडी र घाँसे मैदानमा परिणत हुँदै गए। त्यही समयमा चराहरूको लिओथ्रिचिडेइ परिवारको विकास भयो, जसमा तोरीगाँडा, मिन्ला र नेपाल फुलबुट्टाजस्ता चरा पर्छन्। यही परिवारकै सदस्य हो—नेपालमा मात्र पाइने काँडे भ्याकुर (स्पाइनी ब्याब्लर)।
काँडे भ्याकुरको वैज्ञानिक नाम Acanthoptila nipalensis (Turdoides nipalensis) हो। आनुवंशिक अध्ययनले यसलाई नेपाली भ्याकुरभन्दा अफ्रिकी ब्याब्लरको नजिकको नातेदार देखाएको छ। वैज्ञानिक भाषामा सिस्टर स्पिसिज भनिने यस्तो सम्बन्धका आधारमा उत्तरी र पश्चिमी अफ्रिकामा पाइने कपुचिन ब्याब्लर यसको सबैभन्दा नजिकको प्रजाति मानिन्छ। नाममा ‘Turdoides’ रहे पनि यो चरा थ्रस होइन, ब्याब्लर अर्थात् भ्याकुर प्रजाति हो।
कुनै एक निश्चित भूगोलमा मात्र पाइने जीवलाई ‘एन्डेमिक जीव’ भनिन्छ। एन्डेमिजम क्षेत्र, देश वा महादेशसम्म फैलिएको हुन सक्छ। कुनै बेला विविध समूहमा रहेको जीव अहिले एउटै परिवारमा सीमित भए ‘ट्याक्सोनोमिक अवशेष’ र विगतमा फराकिलो वासस्थान रहेको प्रजाति अहिले सानो क्षेत्रमा सीमित भए ‘बायोजियोग्राफिक अवशेष’ भनिन्छ। काँडे भ्याकुरको अध्ययन नै कम भएकाले यो कुन श्रेणीमा पर्छ भन्न यकिन छैन, तर स्थानीय वातावरणीय दबाबमै नयाँ प्रजाति विकास भएको ‘निओएन्डेमिजम’को उदाहरण हुनसक्ने अनुमान गरिएको छ।
खोजको इतिहास
काँडे भ्याकुरको वैज्ञानिक वर्णन सन् १८३६ मा ब्रायन हुटन हज्सनले गरेका थिए। नेपालमा पासो थाप्नेहरूले सङ्कलन गरेका चराका नमुनाबाट उनले यसको वर्णन गरेको पाइन्छ। तर, त्यसपछि यो चरा करिब १११ वर्षसम्म कतै देखिएन। सन् १९४७ मा बेलायती कूटनीतिज्ञकी श्रीमती डिजायर प्राउडले काठमाडौंको आफ्नै बगैंचामा यो चरा भेटेको उल्लेख गरिन्।
प्राउडले सन् १९५९ मा जर्नल अफ द बम्बे नेचुरल हिस्ट्री सोसाइटीमा लेखेअनुसार काँडे भ्याकुर खेती हुने ठाउँबाट टाढाका बाक्ला झाडीहरूमा बस्न रुचाउँछ, जहाँ हिँड्न गाह्रो हुन्छ र प्रजनन समयमा बाहेक चरा देख्न सहज हुँदैन। प्रजननका बेला भालेहरू झाडीको टुप्पोमा उभिएर गीत गाउने गर्छन्।
सन् १९५२ मा डिलन रिप्लीले प्रकाशित पुस्तक ‘सर्च फर द स्पाइनी ब्याब्लर’ मा नेपालमा काँडे भ्याकुर र माउन्टेन क्वेलको खोजी गर्दाको अनुभव लेखेका छन्। उनले भने माउन्टेन क्वेल भेटाउन सकेनन्। १९औं शताब्दीदेखि नदेखिएको त्यो चरा लोप भइसकेको हुनसक्ने आशङ्का गरिएको छ।
पछिल्लो समय ‘इबर्ड’ नामक सिटिजन साइन्स डेटाबेसले यस प्रजातिको वितरण बुझ्न महत्त्वपूर्ण भूमिका खेलेको छ। इबर्डमा काँडे भ्याकुरको पहिलो रेकर्ड सन् १९७९ नोभेम्बर २७ मा भएको थियो, जब इङ्ल्यान्डका क्रेग रबिन्सनले काठमाडौंको टोखामा यो चरा देखेको रिपोर्ट गरे। सन् १९८२ मा फेवाताल क्षेत्रमा यसको दोस्रो रेकर्ड देखियो। विस्तारै अवलोकन बढ्दै जाँदा यो चरा अहिले नेपालका सबै प्रदेशमा रेकर्ड भइसकेको छ। यसै वर्षको जेठमा चराविज्ञ हथान चौधरी र सुरज बरालले मधेश प्रदेशमा रेकर्ड गरेपछि सबै प्रदेशमा यसको उपस्थिति पुष्टि भएको हो।
व्यवहार, बासस्थान र सङ्ख्याको यकिन
काँडे भ्याकुर बाक्लो झारपात र झाडीमा बस्न रुचाउँछ। प्रायः एक्लै वा जोडीमा देखिने यो चरा अन्य भ्याकुरजस्तो झुन्डमा हिँड्ने प्रजाति होइन। प्रजनन समयबाहेक कहिलेकाहीँ साना समूहमा भने भेटिन सक्छ। यसको माथिल्लो भाग गाढा खैरो, घाँटी र गाला सेतो तथा छातीमा तिखा धर्का हुन्छन्। आँखा नीलो र नानी कालो हुन्छ भने चुच्चो लामो र तलतिर घुम्रिएको हुन्छ। यसले ‘ईल-ईल-ईल-ईल’ जस्तो स्पष्ट र मधुर गीत सुनाउँछ।
यो चराले प्रायः भुईंमा वा साना झारपातमा बसेर कीरा, फट्याङ्ग्रा र क्याटरपिलर खोज्ने गर्छ। फलफूल र फूलको रस पनि यसको आहारमा पर्छ। लामो अवधिको एक अध्ययनअनुसार यसको खानामा ८६ प्रतिशत कीरा–फट्याङ्ग्रा र १४ प्रतिशत फल वा बीउ हुन्छ।
नेपालको स्थानीय तथा आवासीय चराका रूपमा रहेको काँडे भ्याकुर १५०० देखि २१३५ मिटरसम्मको उचाइमा भेटिएको छ। हिउँदमा भने ५०० देखि १८३० मिटरसम्म पाइने भएकाले यसले केही मात्रामा ठाडो बसाइँसराइ गर्न सक्ने अनुमान गरिन्छ।
नेपालमा सूचीकृत ९०३ प्रजातिका चरामध्ये काँडे भ्याकुर एक मात्र एन्डेमिक भए पनि अनुसन्धानका दृष्टिले भने यो निकै पछाडि परेको छ। रक्षा ठकुरीद्वारा सन् २०२० मा गरिएको अध्ययनले ल्वाङ घलेल क्षेत्रमा यसको सङ्ख्या १२९ हुनसक्ने अनुमान गरेको थियो, जसमध्ये ३७ प्रतिशत १४०० देखि १६०० मिटरको उचाइमा भेटिएका थिए। उक्त अध्ययनको घनत्व र इबर्डमा रेकर्ड भएको क्षेत्रका आधारमा नेपालमा १७ हजार ८१४ देखि ३५ हजार ५३७ वटासम्म काँडे भ्याकुर हुनसक्ने मोडेल प्रोजेक्सन निकालिएको छ। तर, यो एउटै अध्ययन र इबर्डको तथ्याङ्कमा आधारित भएकाले वास्तविक सङ्ख्या यही हो भन्न सकिँदैन।
इबर्डमा रेकर्ड भएका अवलोकन र चरा हेर्नेहरूको प्रयासलाई नियन्त्रण गरेर हेर्दा सन् १९७९ यता यसको सङ्ख्या स्थिर रहेको देखिन्छ। तर, यकिन सङ्ख्या र यसको वृद्धि–गिरावट पत्ता लगाउन थप क्षेत्रहरूमा घनत्व अध्ययन आवश्यक छ। कुनै पनि पन्छीको संरक्षण गर्न त्यसबारे बुझ्नु आवश्यक हुन्छ। नेपालमा मात्र पाइने यो चराको अवस्थाबारे जान्न थप अध्ययन र त्यसका लागि आर्थिक सहयोग आवश्यक रहेको छ, र सरकार तथा सरोकारवाला निकायको ध्यान यस प्रजातितिर जानुपर्ने देखिन्छ।





