मुख्य सामग्रीमा जानुहोस्

कीर्तिपुरको मस् भिं पुखुमा पहिलोपटक कमन टर्न चरा देखियो

कीर्तिपुरको खासीबजारस्थित मस् भिं पुखुमा पहिलोपटक कमन टर्न चरा देखिएको छ। स्थानीयका अनुसार ५–६ दिनदेखि यो चरा पोखरीमा देखिँदै आएको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
कीर्तिपुरको मस् भिं पुखुमा पहिलोपटक कमन टर्न चरा देखियो
Online Khabar

काठमाडौँको कीर्तिपुरस्थित खासीबजार क्षेत्रमा रहेको मस् भिं पुखु (पोखरी) मा कमन टर्न अर्थात् वायु फ्यालफ्याले चरा देखिएको छ। स्थानीयवासीका अनुसार करिब ५–६ दिनदेखि यो चरा सो पोखरीमा देखिँदै आएको हो। प्रकृति तथा वन्यजन्तु फोटोग्राफर सुप्रदीप्ता न्यौपानेको भनाइअनुसार कीर्तिपुरको व्यस्त बजार क्षेत्रमा यसअघि यो चरा देखिएको कुनै अभिलेख छैन।

चरा हेर्न र तस्बिर खिच्नका लागि चराप्रेमी तथा सर्वसाधारण मस् भिं पुखु पुग्ने क्रम बढेको छ। पोखरीमा हाल एउटा मात्र कमन टर्न देखिएको छ। मानिसहरू नजिकै पुग्दा समेत उक्त चराले भाग्ने चेष्टा नगरेको देख्दा अवलोकनकर्ता आश्चर्यचकित भएका छन्।

यो प्रजाति युरोप, एसिया र उत्तर अमेरिकाका समुद्री तट तथा नदी–तालको आसपास पाइने गर्छ। नेपालमा भने यसलाई बसाइँसराइ गरेर आउने चराका रूपमा चिनिन्छ। यसअघि काठमाडौँ उपत्यकाका रानीपोखरी, टौदहा, बागमती र मनोहरालगायत सिमसार क्षेत्रमा यो चरा भेटिएको अभिलेख छ।

बसाइँसराइ गरेर आउने चरा भए पनि मानिसको नजिकै रहने बानीका कारण यसको अवलोकन सहज भएको छ। कमन टर्नको मुख्य आहारा माछा हो।