मुख्य सामग्रीमा जानुहोस्

सिसडोल–बञ्चरेडाँडाको फोहोरले प्रभावित बस्तीमा ‘एक घर एक बिरामी’

धादिङको धुनिबेसी र ककनीका ६ वडाका बस्तीहरू फोहोरका कारण गम्भीर स्वास्थ्य समस्यामा परेका छन् । सिसडोल स्वास्थ्य चौकीमा मात्रै वार्षिक ५ हजारभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
सिसडोल–बञ्चरेडाँडाको फोहोरले प्रभावित बस्तीमा ‘एक घर एक बिरामी’
Online Khabar

५ भदौ, काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाका फोहोर प्रभावित बस्तीहरूमा रोगले सामान्य जनजीवन नै थला पारेको छ । काठमाडौं उपत्यकासहित २१ वटा पालिकाको फोहोर सिसडोल–बञ्चरेडाँडामा ल्याउन थालेपछि यहाँका घरघरमा बिरामी पर्ने क्रम बढेको स्थानीय बताउँछन् ।

विसर्जनस्थलनजिकै रहेको मानव बस्तीमा हावाले दुर्गन्ध फैलाउने गरेको छ भने काग, चिल र कुकुरहरूले फोहोरका कण घरसम्मै पुर्‍याउने गरेका छन् । धुनिबेसी–१ बञ्चरेडाँडाका स्थानीय रामबाबु उप्रेतीले पछिल्लो दुई दशकदेखि नरककै जीवन बिताउनुपरेको गुनासो गरे । गाउँमा बस्नै नसकिने अवस्था भएको र फोहोरका कारण सयौँ मानिस बिरामी परेको उनको भनाइ छ ।

उप्रेतीका अनुसार यस क्षेत्रमा १०० भन्दा बढी क्यान्सरका बिरामी छन् । फोहोर ओसार्ने गाडीको ठक्करबाट ४६ जनाको ज्यान गइसकेको उनले सुनाए । बञ्चरेडाँडाकै बद्रीबहादुर ओझाले आमा, बुबा, ठूलो बा र अन्य आफन्तहरूलाई क्यान्सरकै कारण गुमाएका छन् । आफूलाई पनि शरीरभरि फोका र गिर्खा देखिन थालेको, चिलाउने समस्या भएको र निरन्तर औषधि खानुपरेको उनले बताए ।

सिसडोल–बञ्चरेडाँडाको फोहोरले धुनिबेसी नगरपालिकाका वडा नम्बर १, ३ र ४ तथा ककनी गाउँपालिकाका वडा नम्बर १, २ र ३ प्रभावित छन् । धुनिबेसी–१ का वडाध्यक्ष मानबहादुर तामाङले अतिप्रभावित वडा आफ्नै भएको बताउँदै ४ हजार ५०० जनसंख्या रहेको त्यहाँका सबै नागरिक प्रभावित भएको जानकारी दिए ।

ककनी–१ का वडाध्यक्ष पदम बलामीका अनुसार प्रभावित १ हजार १०० घरधुरीले स्वास्थ्य बीमा गरेका छन् । सिसडोलबाट बञ्चरेडाँडामा फोहोर सारिए पनि समस्या उस्तै रहेको उनको भनाइ छ । ककनी–२ का वडाध्यक्ष कृष्ण घिमिरेले १२ सय घरधुरीमध्ये ६ सय अतिप्रभावित रहेको बताए । ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईँले ९ सय घरधुरीमध्ये ३ सय अतिप्रभावित रहेको जानकारी दिए । बञ्चरेडाँडाको नजिक रहेकाले त्यस वडाको अवस्था कठिन रहेको उनको भनाइ छ ।

प्रभावित बस्तीमा क्यान्सर, मुटु र मिर्गौलाजस्ता प्राणघातक रोगका बिरामी भेटिन्छन् । झाडापखाला, टाइफाइड, श्वासप्रश्वास र छालासम्बन्धी समस्या लिएर घरैपिच्छे बिरामी देखिन्छन् । फोहोरमा पाइने क्यान्सरजन्य रसायन र विषालु कीटाणुहरू चरा तथा कुकुरले घरघर र खानेपानीका स्रोतसम्म पुर्‍याउने गरेको छ ।

सेवा र उपचारको अवस्था

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार फोहोरले मानिसमा जैविक र रासायनिक संक्रमण निम्त्याउँछ । दूषित फोहोरको असर फोक्सो र छालामा प्रत्यक्ष देखिने र झन् जटिल अवस्थामा क्यान्सरजस्तो रोगसमेत लाग्न सक्ने उनले बताए । संविधानको धारा ३० ले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गरे पनि यहाँका नागरिक त्यसबाट वञ्चित छन् । धारा ३० को उपधारा २ मा वातावरणीय प्रदूषणबाट हुने क्षतिवापत क्षतिपूर्ति पाउने व्यवस्था छ, तर यस क्षेत्रका पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

बस्तीनजिकै बग्ने कल्पु खोला दूषित हुँदा स्थानीय स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित भएका छन् । संविधानको धारा ३५ को उपधारा ४ मा स्वच्छ खानेपानी तथा सरसफाइको हक उल्लेख भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । स्थानीयले सरकारले स्वास्थ्य बीमा गरिदिए पनि अस्पताल पुग्दा अलमल गराइने र स्वास्थ्य चौकीमा औषधि नपाइने गुनासो गरेका छन् । प्रभावित बस्तीका स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक, प्रयोगशाला र पर्याप्त औषधिको अभाव छ । सरकारले रोग दिए पनि उपचार नदिएको स्थानीय थापाको गुनासो छ ।

सिसडोल स्वास्थ्य चौकीले पनि पर्याप्त औषधि नभएको स्वीकार गरेको छ । अहेब राजकुमार न्यौपानेले चौकीमा ज्वरो र झाडापखालाको मात्र औषधि भएको बताए । सरकारले ‘एक घर एक रोजगारी’ को सपना देखाए पनि फोहोरका कारण यहाँ ‘एक घर एक बिरामी’ को अवस्था बनेको स्थानीयको भनाइ छ ।

स्वास्थ्य चौकीमा वार्षिक ५ हजार बिरामी

सिसडोल स्वास्थ्य चौकीमा मात्रै वार्षिक ५ हजारभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन् । क्यान्सरजस्ता जटिल रोग भएका बिरामी काठमाडौं जाने गरेका छन् भने झाडापखाला, टाइफाइड, श्वासप्रश्वास र छालासम्बन्धी समस्या भएकाहरू स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँछन् ।

न्यौपानेका अनुसार स्वास्थ्य बीमा भएकाले धेरै बिरामी काठमाडौं पुग्छन् । वर्षभरिमा ५ हजारभन्दा बढी बिरामी आउने गरेको उनले बताए । काठमाडौंमा उपचार गराउने बिरामीको संख्या त्यसमा गणना गरिएको छैन । फोहोरका कारण बिरामी हुनेदेखि सरुवा रोगका बिरामीसम्म आउने उनको भनाइ छ । प्रदूषित वातावरणकै कारण बिरामीको संख्या बढी रहेको र फोहोरमा पाइला टेक्दा घाउ, खटिरा र एलर्जी भएकाहरू पनि उपचारका लागि आउने गरेको न्यौपानेले सुनाए ।