काठमाडौं । नेपालमा बाईडी (BYD) सवारी साधनको आधिकारिक वितरक तथा सेवा प्रदायक सिमेक्स इंकले ग्राहक केन्द्रित राष्ट्रव्यापी अभियान सुरु गरेको छ। यस अभियानले विद्यमान ग्राहकहरूको बिक्रीपछिको सेवा, सवारी कनेक्टिभिटी तथा स्वामित्व सुरक्षालाई अझ सुदृढ बनाउने कम्पनीले जनाएको छ।
“बाईडी अपडेट टु केयर+” नाम दिइएको उक्त अभियानको शुभारम्भ गुहेश्वरीस्थित बाईडी सेवा केन्द्र सिमेक्स केयरमा गरिएको थियो। अहिले यो अभियान देशका १३ वटा सेवा केन्द्रमार्फत उपलब्ध भइरहेको छ।
अभियानअन्तर्गत सन् २०२४ सेप्टेम्बरभन्दा अघि डेलिभरी भएका र पहिल्यै कनेक्टेड–कार सुविधा नपाएका योग्य बाईडी सवारी साधनहरूमा निःशुल्क बाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट सक्रियता उपलब्ध गराइनेछ।
तीनखाले विशेष सुविधा
अभियानमा केयर+, कनेक्ट+ र प्रोटेक+ गरी तीनवटा खण्ड राखिएको छ। केयर+ अन्तर्गत प्रमाणित प्राविधिकले सवारी निरीक्षण, वास्तविक पार्टपुर्जाको प्रयोग, डायग्नोस्टिक्स र सेवा उपलब्ध गराउनेछन्। कनेक्ट+ अन्तर्गत सिम स्थापना, बाईडी एप सक्रियता, इन्फोटेनमेन्ट कनेक्टिभिटी र एनसेलको सहयोग रहनेछ।
प्रोटेक+ अन्तर्गत बीमासम्बन्धी परामर्श र नवीकरण सहयोग, विस्तारित वारेन्टीसम्बन्धी मार्गदर्शनलगायत योग्य सवारीका लागि १० वर्षे विस्तारित वारेन्टीको सुविधा राखिएको छ। साथै शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्समार्फत क्यासलेस दुर्घटना तथा दाबी सहयोग पनि उपलब्ध हुनेछ।
छुट र सेवा केन्द्र विस्तार
योग्य ग्राहकहरूले ब्याट्री कभर, स्पेयर टायर र डेन्ट एन्ड पेन्ट सेवामा १० प्रतिशत छुटका साथै एक पटकको निःशुल्क होम चार्जर जाँच सेवा पाउनेछन्। यसअघि एप पहुँच नपाएका योग्य ग्राहकहरूलाई इन्फोटेनमेन्टसहित ६ महिनाको निःशुल्क बाईडी एप डाटा पनि दिइने भएको छ।
सिमेक्सका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले व्यावसायिक सेवा, कनेक्टिभिटी र स्वामित्व संरक्षणलाई एकै पहलमा समेट्ने बताए।
कम्पनीले हाल धनगढी, नेपालगन्ज, दाङ, बुटवल, पोखरा, चितवन, ललितपुर, काठमाडौं, वीरगन्ज, जनकपुर, इटहरी, विराटनगर र बिर्तामोडमा अधिकृत बाईडी सेवा केन्द्र सञ्चालन गरिरहेको छ। सन् २०२६ मा भक्तपुर, डल्लु र लहानमा थप तीन सेवा केन्द्र खोल्ने योजना छ।






