मुख्य सामग्रीमा जानुहोस्

विदेशी गतिविधिले राष्ट्रिय सुरक्षामा जोखिम : पूर्व एआईजी राईको चेतावनी

विभिन्न आवरणमा नेपाल भित्रिने विदेशी व्यक्ति र संस्थाका गतिविधिले राष्ट्रिय सुरक्षामा जोखिम बढाउन सक्ने पूर्व एआईजी टेकप्रसाद राईले बताएका छन्। धर्म, व्यापार र विवाहका नाममा हुने शंकास्पद क्रियाकलापको सूक्ष्म अनुगमन…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

विदेशी व्यक्ति तथा संस्थाहरूको गतिविधि नेपालमा विभिन्न रूपमा बढ्दै गएको सन्दर्भमा पूर्व एआईजी टेकप्रसाद राईले राष्ट्रिय सुरक्षाप्रति गम्भीर सवाल उठाएका छन्। कोही निश्चित उद्देश्य लिएर, कोही धार्मिक प्रचारको नाममा र कोही व्यापारको बहानामा नेपाल भित्रिने गरेको भन्दै उनले बाहिरी आवरण फरक देखाएर अर्कै काम गर्ने प्रवृत्तिले आन्तरिक तथा बाह्य सुरक्षा दुवैमा जोखिम बढाउने बताएका छन्।

राईका अनुसार धर्मका नाममा भइरहेका विदेशी क्रियाकलापले मुलुकको आन्तरिक सुरक्षा मात्र नभई सामाजिक तथा धार्मिक सद्भाव नै खलबल्याउन सक्छ। विभिन्न धर्म र जातिका नाममा हिंसा भड्काउने प्रयास भइरहेका बेला विदेशी संलग्नतासमेत थपिए आन्तरिक सुरक्षा झन् कमजोर हुने उनको भनाइ छ।

धार्मिक प्रचार र सामाजिक सद्भाव

नेपाली समाज बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक परिवेशमा अगाडि बढेको स्मरण गराउँदै राईले एक जातिले अर्को जातिसँग मितेरी गाँस्ने, भाइचारा कायम राख्ने र सँगै बस्ने संस्कृतिलाई कसैले भत्काउन खोजे समुदायमा हिंसा फैलिन सक्ने बताए।

साँझ आउने पाहुनालाई लक्ष्मीका रूपमा पूजा गर्ने संस्कार रहे पनि त्यही आतिथ्यताको दुरुपयोग भए समाजमा असन्तुष्टि र द्वन्द्व बढ्ने उनको आशंका छ। विदेशी व्यक्तिले समाजलाई प्रभावित पार्न खोजे आन्तरिक सुरक्षा चुनौतीपूर्ण बन्ने उनले बताए।

भूराजनीतिक पाटो र गुप्तचरी शैली

विदेशी गतिविधिलाई भूराजनीतिक दृष्टिले विश्लेषण गरिनुपर्ने राईको भनाइ छ। नेपालमा विदेशीको स्वार्थ के हो, किन कोही भेष बदलेर बसिरहेको छ भन्ने प्रश्नको उत्तर खोज्न उनले सुझाएका छन्।

नेपाली नागरिकसँग विवाह गरेर गुप्तचरी गर्ने प्रवृत्ति पुरानै रहेको उल्लेख गर्दै राईले पहिले पनि यस्तै शैलीमा नेपाली युवा–युवतीसँग विवाह गरेर जासुसी गरेको पाइएको स्मरण गराए। यसै सन्दर्भमा गुप्तचर रिपोर्टले पनि नेपालीसँग विवाह गरेर अंगीकृत नागरिकता लिने, सम्बन्ध विच्छेद गरेर अर्को विदेशीसँग विवाह गर्ने र अंगीकृत नागरिकता दिलाउने प्रवृत्तिले राजस्व चुहावट मात्र नभई राष्ट्रिय सुरक्षालाई समेत धरापमा पार्ने संकेत गरेको छ।

अध्यागमनदेखि एनजीओ अनुगमनसम्म

विदेशी व्यक्तिको मुख्य प्रवेशद्वार अध्यागमन भएकाले सुरुमै व्यवस्थित अनुगमन आवश्यक रहेको राईको सुझाव छ। अहिले भिसा जारी गरेर मात्र छाड्ने र उजुरी परेपछि मात्रै डिपोर्ट गर्ने अभ्यासले शंकास्पद क्रियाकलाप रोक्न नसक्ने उनको तर्क छ।

अध्यागमनबाट भित्रिएका व्यक्तिको विवरण सुरक्षा संयन्त्रसहित सम्बद्ध निकायमा पुर्‍याउने डेटा साझेदारी प्रणाली अझै बन्न नसकेको उनले बताए। पटक–पटक नेपाल आइरहने व्यक्तिको उद्देश्य, यहाँको सम्पर्क र गतिविधिबारे बुझ्नुपर्नेमा जोड दिए। त्यस्तै, एनजीओ तथा आईएनजीओ दर्ता गर्ने समाज कल्याण परिषद्ले पनि खुफिया क्षेत्र बुझेका जनशक्ति राख्नुपर्ने र दर्ता हुँदै आएका संस्थाको उद्देश्य, स्रोत र खर्चको विवरण अनुगमन गर्नुपर्ने उनको भनाइ छ।

खुला सीमा र राष्ट्रिय सुरक्षा

खुला सीमाका कारण नेपालमा गुप्तचरी गतिविधिको दायरा फराकिलो हुन सक्ने राईले बताए। पाकिस्तान र भारत दुवै पक्षको स्वार्थ नेपालसँग जोडिन सक्ने भन्दै उनले यही भूगोलमा विभिन्न मुलुकका गुप्तचरी निकायबीच प्रतिजासुसी हुनसक्ने उल्लेख गरे।

आफ्नै संयन्त्रलाई यी गतिविधिबारे जानकारी नभए मुलुकको भूराजनीतिक र राष्ट्रिय सुरक्षामा ठूलो खतरा उत्पन्न हुने उनको चेतावनी छ।