लमजुङमा गाँजा किनबेचका क्रममा भएको विवादले एक वृद्धाको ज्यान लिन पुगेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार राईनास नगरपालिका–६ फूलबारीकी ७५ वर्षीया काली सार्कीको हत्या भएको हो।
सार्की शुक्रबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घरभित्र रहेको खाटमुनि घाँटी काटिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले बताएको छ।
हत्या प्रकरणको अनुसन्धान गर्दा सोही ठाउँका ४८ वर्षीय प्रेम अच्छामी संलग्न देखिएका छन्। गाँजा किन्ने क्रममा पैसाकै विषयमा विवाद भएपछि अच्छामीले हसियाले प्रहार गरी हत्या गरेको र मृतकका कान तथा घाँटीमा लगाइएका सुनका गहना चोरी गरेको प्रहरी निष्कर्ष छ।
अभियुक्त अच्छामीलाई सोमबार पक्राउ गरिएको थियो। मंगलबार उनलाई लमजुङ जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।






