राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया थाल्ने भएको छ। पार्टीले १ भदौदेखि क्यान्डिडेट क्लबमार्फत इच्छुक आकांक्षीहरूको आवेदन संकलन गर्ने निर्णय गरेको हो।
योग्य, इमान्दार र सक्षम उम्मेदवार चयन गर्ने उद्देश्यले क्यान्डिडेट क्लबलाई पहिलो चरणका रूपमा अघि सारिएको रास्वपाको भनाइ छ। स्थानीय तहका उम्मेदवार छनोटको विधि बनाउने जिम्मेवारी महामन्त्री विपिनकुमार आचार्यलाई दिइएको थियो। अघिल्लो समितिमा सहमहामन्त्री रहँदा तयार पारिएको उम्मेदवार छनोट रूपरेखा पार्टीले सार्वजनिक गरेको छ।
चार चरणको छनोट मापदण्ड
रास्वपाको विधिअनुसार स्थानीय तहको उम्मेदवार बन्न इच्छुक व्यक्तिले चार चरणको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। तीमध्ये प्रारम्भिक निर्वाचनको मतभार सबैभन्दा बढी अर्थात् ४० प्रतिशत तोकिएको छ। लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटीको मूल्याङ्कनमा २५/२५ प्रतिशत भारांक रहने व्यवस्था छ। समावेशी समूहभित्र पर्ने आवेदकले स्वतः थप १० प्रतिशत अंक प्राप्त गर्नेछन्।
प्रारम्भिक निर्वाचनका मतदाता सम्बन्धित स्थानका पार्टी सदस्यहरू नै हुनेछन्। स्थानीय सदस्यको भारांक ७५ प्रतिशत रहने गरी विधि तयार पारिएको छ। पालिकाकै व्यक्ति भई पार्टीको वडादेखि प्रदेशसम्मको संरचनामा कार्यरत सदस्यको हकमा भारांक १५ प्रतिशत र केन्द्रीय समितिमा रहेका व्यक्तिको हकमा १० प्रतिशत तोकिएको छ।
लिडरसिप एकेडेमीको पाठ्यक्रम केन्द्रले निर्धारण गर्नेछ। यसअन्तर्गत राजनीतिक संस्कार, नीतिगत स्पष्टता र जनसेवाजस्ता विषयमा मूल्याङ्कन हुनेछ। पोलिटिकल प्रोक्सिमिटीमा सांगठनिक आवद्धता, विगतको भूमिका र अनुशासन, निर्वाचित हुने सम्भाव्यता, बहुआयामिक लोकप्रियता, शैक्षिक तथा पेशागत अनुभव र तटस्थ सामाजिक परीक्षणलगायत विषय हेरिनेछ।
कसले दिन पाउँछन् आवेदन?
१ भदौदेखि खुला हुने क्यान्डिडेट क्लबमा दुई प्रकृतिका आवेदन खुल्नेछन्। पालिका क्यान्डिडेट क्लबमा प्रमुख–मेयर, उपप्रमुख–उपमेयर, अध्यक्ष र उपाध्यक्ष पदका आकांक्षीले आवेदन दिन सक्नेछन्। यस्तै, वडाध्यक्ष र सदस्य पदका लागि वडा क्यान्डिडेट क्लब खुला गरिनेछ।
आवेदकले वैयक्तिक चारित्रिक अवस्था खुलाउनुपर्ने हुन्छ। शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण, वैवाहिक अवस्थाको कानुनी स्पष्टता, दुर्व्यवहार तथा डिजिटल अपराध, वित्तीय तथा आर्थिक शुद्धता, स्वार्थ बाझिने अवस्था र विचाराधीन मुद्दा तथा कानुनी विवादको स्पष्टताजस्ता विषय आवेदनमा उल्लेख गर्नुपर्नेछ।
उम्मेदवार बन्न पार्टी सदस्यता लिएको निश्चित अवधि पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। नयाँ सदस्यको हकमा सदस्यता लिएको ४५ दिन पुगेपछि मात्र आवेदन दिन सकिनेछ। अन्य दल परित्याग गरेकाहरूका लागि भने त्यस्तो दल त्यागेको तीन महिना पूरा भएको हुनुपर्नेछ। समाजका प्रतिष्ठित, विज्ञ र स्वच्छ छवि भएका व्यक्तिहरूका लागि तोकिएका समिति तथा निकायको सहमतिबमोजिम विशेष प्रक्रियामार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
थप प्रावधान
प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भएको व्यक्तिलाई स्थानीय तहको उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउने छैन। गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया सुरु भए पनि कार्यान्वयन हुन सकेको थिएन।
उम्मेदवार छनोटका लागि केन्द्रीय सचिवालयलाई विशेषाधिकार प्रयोग गर्न सक्ने प्रावधान पनि राखिएको छ। सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी हरेक तहको उम्मेदवार छनोटमा अधिकतम प्रतिशत नबढ्ने गरी विशेषअधिकार प्रयोग गर्न सक्नेछ।
यसैगरी, विधि कार्यान्वयन हुन नसक्ने अवस्थालाई असाधारण अवस्था मानिएको छ। यस्तो परिस्थितिमा विधिभन्दा बाहिर गएर उम्मेदवार छनोट गर्नुपरे केन्द्रीय समितिबाट दुई तिहाइ बहुमतले निर्णय पारित गर्नुपर्ने प्रावधान छ।
रास्वपाले सही तरिकाले सही ठाउँमा सही व्यक्ति छान्ने परिपाटी स्थापना गर्न क्यान्डिडेट क्लबको अवधारणा अघि सारेको जनाएको छ। यो विधिले स्थानीय लोकप्रियता र निर्वाचन जित्ने क्षमताको परीक्षण गर्ने र नेताकेन्द्रित नभई विधिकेन्द्रित निर्णय संस्कृति विकास हुने पार्टीको ठहर छ।
