सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ। महोत्तरीको गौशाला नगरपालिका–१२ का ५७ वर्षीय जगन्नाथ महतो कोइरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर नजिकै आकस्मिक जाँच गर्दा कोइरी पक्राउ परेका हुन्। भारतबाट बायलबासतर्फ ठूलो रकम लगिँदै गरेको सूचनापछि प्रहरीले स्कुटर (जा १० प ८६५२) रोकेर जाँच गरेको थियो।
कालो झोलामा लुकाइएको नगद
जाँचका क्रममा कोइरीले बोकेको कालो झोलामा नगद लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बरामद रकममा एक हजार दरका ३ हजार ५ सय, पाँच सय दरका ३ हजार २ सय ८, एक सय दरका ७ सय र पचास दरका २ सय नोट रहेका छन्।
हुन्डी कारोबारको आशंका
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी बेद प्रसाद गौतमले उक्त नगद भारतबाट ल्याइएको हुन सक्ने आशंका रहेको बताए। उनका अनुसार नगदको स्रोत नखुलेकाले यो हुन्डी कारोबारसँग जोडिन सक्ने आशंका छ।
थप अनुसन्धानका लागि महतोलाई प्रहरी नियन्त्रणमा राखिएको गौतमले जानकारी दिए।






