२९ साउन, विराटनगर । बुढीगंगा गाउँपालिका–५ मा रहेको रिजालको भान्सा ग्यास उद्योग प्रालिलाई जिल्ला प्रशासन कार्यालय मोरङले २ लाख ९५ हजार रुपैयाँ जरिबाना गरेको छ। उद्योगले उपभोक्ता हितविपरीत काम गरेको ठहर प्रशासनले गरेको हो।
बुधबार बजार अनुगमन टोलीले उद्योग परिसरमा रहेका १९ वटा भरिएका सिलिन्डरको तौल जाँच गरेको थियो। सो क्रममा एउटा सिलिन्डरमा तोकिएकोभन्दा २४० ग्राम कम ग्यास भेटिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। त्यस्तै, म्याद गुज्रिएका दुईवटा सिलिन्डरमा ग्यास भरेर बजार पठाउने तयारी गरिएको अवस्थामा समेत ती सिलिन्डर फेला परेका थिए।
अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिहरू सहभागी थिए। अनुगमनका क्रममा उद्योग बन्द अवस्थामा रहेको बताइएको छ।
ग्यास पसललाई पनि जरिबाना
सोही अनुगमनका क्रममा विराटनगर महानगरपालिका–३ स्थित कञ्चनेश्वर ग्यास पसल पनि कारबाहीमा परेको छ। अनुगमन टोलीलाई जाँचबुझ र निरीक्षणको काममा अवरोध पुर्याएको भन्दै उक्त पसललाई १५ हजार रुपैयाँ जरिबाना गरिएको छ।
यसअघि कोशी ग्यास उद्योग पनि कारबाहीमा परेको थियो। मोरङ प्रशासनले उपभोक्ता ठगीविरुद्धको अनुगमनलाई निरन्तरता दिँदै आएको छ।






