मुख्य सामग्रीमा जानुहोस्

जोन्टा इन्टरनेसनल बोर्डमा सृजना राणा : निर्वाचित हुने पहिलो नेपाली

सृजना राणा जोन्टा इन्टरनेसनलको सञ्चालक समितिमा निर्वाचित हुने पहिलो नेपाली बनेकी छन्। महासभाले उनलाई सन् २०२६–२०२८ कार्यकालका लागि चयन गरेको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

काठमाडौं, २०८३ साउन २९ । जोन्टा इन्टरनेसनलको बोर्ड अफ डाइरेक्टर्समा सृजना राणा निर्वाचित भएसँगै नेपालबाट पहिलोपटक उक्त संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व पुगेको छ। महिला तथा किशोरीका हकअधिकार, समानता र नेतृत्वविकासका लागि विश्वभर क्रियाशील यो संस्थामा उनको छनोट भएको हो।

क्यानडाको भ्यानकुभरमा सम्पन्न ६७औं जोन्टा इन्टरनेसनल महासभाले राणालाई सन् २०२६–२०२८ कार्यकालका लागि सञ्चालकमा निर्वाचित गरेको थियो।

संस्थामा नेपालको नयाँ प्रतिनिधित्व

जोन्टा इन्टरनेसनलअन्तर्गत हाल विश्वका ६६ देशमा एक हजार १ सयभन्दा बढी क्लब सञ्चालनमा छन्। महिला अधिकार, समानता र नेतृत्वविकासका क्षेत्रमा यसले विश्वव्यापी पहल गर्दै आएको छ।

राणा नेपालको आतिथ्य क्षेत्र तथा सामाजिक अभियानकी नेतृत्वकर्ता हुन्। उनी होटल एसोसिएसन नेपाल (हान) र नेपाल–भारत उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष हुन्। महिला सशक्तीकरण, नेतृत्व विकास र सामाजिक अधिकारका क्षेत्रमा उनी लामो समयदेखि सक्रिय छिन्।

जोन्टा इन्टरनेसनलमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि ठूलो सम्मान र गम्भीर जिम्मेवारी भएको राणाले बताइन्। नेपालका युवा महिलाले आफूमाथिको विश्वासलाई अझ बलियो बनाउँदै उच्च लक्ष्यतर्फ अघि बढ्न यस उपलब्धिले प्रेरित गर्ने उनको भनाइ छ।

जोन्टा क्लब काठमाडौंलाई ग्लोबल अवार्ड

यसैबीच, जोन्टा क्लब काठमाडौंले पनि यस पटक प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान हात पारेको छ। क्लबलाई लगातार दोस्रो पटक 'जोन्टा एक्सेलेन्स इन सर्भिस एन्ड एडभोकेसी अवार्ड' प्रदान गरिएको हो।

विश्वभरका एक हजार १ सयभन्दा बढी क्लबमध्ये हरेक दुई वर्षमा ६ वटा क्लबले मात्र यो पुरस्कार पाउने गर्छन्। महिला तथा किशोरीमाथि हुने भौतिक र अनलाइन (साइबर) हिंसाको रोकथाम तथा नियन्त्रणमा पुर्‍याएको योगदानको कदर गर्दै योपटक क्लबलाई सम्मान गरिएको हो।

त्यसका लागि जोन्टा क्लब काठमाडौंले नेपाल प्रहरी, प्रहरीको साइबर ब्युरो, कानुन व्यवसायी, स्थानीय सरकार, नागरिक समाज, निजी क्षेत्र र शैक्षिक संस्थासँग सहकार्य गरेको छ।