मुख्य सामग्रीमा जानुहोस्

झरीमा दिनभर ग्यास कुरेका उपभोक्ता रित्तो हात फर्किए

राजधानीमा खाना पकाउने ग्यासको अभाव कायमै छ । शनिबार सरकारले तोकेका पाँच स्थानमा उपभोक्ताहरू बिहानैदेखि रित्ता सिलिन्डर बोकेर लाइनमा पुगे पनि झरीमा भिज्दा समेत ग्यास पाउन सकेनन् ।

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

खाना पकाउने ग्यास नपाएर एक महिनादेखि मारमा परेका काठमाडौं उपत्यकाका उपभोक्ता शनिबार पनि दिनभर झरीमा भिजेर लाइन बस्नुपरेको छ । नेपाल आयल निगमले शुक्रबार साँझ काठमाडौंका थप ५ स्थानबाट विभिन्न ब्रान्डका ग्यास बिक्री गर्ने सूचना जारी गरेपछि उपभोक्ता बिहान ८ बजेदेखि नै रित्ता सिलिन्डर बोकेर ती स्थानमा पुगेका थिए ।

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिक्री हुने भनिए पनि दिउँसो काठमाडौंका विभिन्न भागमा पानी पर्न थालेपछि उपभोक्ता पानीमै भिजेर लाइनमा उभिरहे । टेकुदेखि कीर्तिपुरसम्म र जडिबुटीदेखि बसुन्धरासम्म सरकारले तोकेका केन्द्रहरूमा पूरा सिलिन्डर किन्ने प्रतीक्षामा रित्ता सिलिन्डरको ताँती लागेको थियो । राष्ट्रिय परिचयपत्र र नागरिकता बोकेर हरेक उपभोक्ता एक सिलिन्डर ग्यासका लागि लामबद्ध भएका देखिन्थे ।

उपभोक्ताको दिनभर लाइन र गुनासो

टेकुस्थित आयल निगमको वितरण केन्द्रमा लाइन लागेका विश्व अधिकारीले आफू ४५ वर्षको भए पनि जीवनमा यस्तो समस्या पहिलोपटक भोगेको सुनाए । उनले २०७२ सालको विनाशकारी भूकम्पका बेला पनि यति ठूलो सास्ती नभोगेको बताए । घरको ग्यास सकिएर एक महिना पुगेको र सुरुमा छिमेकी तथा आफन्तको ग्यास प्रयोग गरेर गुजारा चलाए पनि अहिले त्यो उपाय पनि सकिएको उनको भनाइ छ । एक सातादेखि होटलको खानामा भर पर्नुपरेको तर आफूले ग्यास भने नपाएको उनले गुनासो गरे । ग्यास अभावको मुख्य कारण आपूर्ति व्यवस्थापनको कमजोरी र सम्भावित कालोबजारी रहेको उनको आशंका छ । पहुँच भएकाले सहजै ग्यास पाउने तर सर्वसाधारण घण्टौं लाइन बसे पनि नपाउने अवस्था रहेको उनले सुनाए ।

गौशालामा विगत १० वर्षदेखि बस्दै आएका दीपक मगर बिहान ९ बजेदेखि लाइनमा थिए । दिउँसो ३ बजिसक्दा पनि उनले ग्यास पाएका थिएनन् । गौशालामा बसेको एक दशकमा यस्तो दुःख पहिलोपटक भोग्नुपरेको उनले बताए ।

श्रमजीवी विद्यालय ग्वार्कोमा पढ्ने विवेककुमार साह करिब तीन महिनाअघि मात्र काठमाडौं आएका हुन् । ग्यास अभावका कारण उनी होटलमै खाना खान बाध्य छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट ग्यास वितरणको जानकारी पाएपछि बिहानैदेखि लाइन बसे पनि अहिलेसम्म ग्यास नपाएको उनले सुनाए ।

कुन केन्द्रबाट कति ग्यास बिक्री ?

शनिबार विभिन्न वितरण केन्द्रहरूबाट कुल ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री भएको आयल निगमले जनाएको छ । सबैभन्दा धेरै टेकु परिसरमा २ हजार २९० सिलिन्डर बिक्री भएको थियो । पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट १ हजार ६००, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७६२, चाबहिलको यातायात कार्यालय परिसरबाट ७२० र बसुन्धराको राधास्वामी केन्द्रबाट ६०० सिलिन्डर वितरण भएको निगमको तथ्यांक छ ।

ब्रान्डगत रूपमा नेपाल ग्यासका १ हजार ७६० सिलिन्डर बिक्री भएकोमा एभरेष्ट/सुगमका १ हजार ४३, एचपीका ७८०, हिमालका ५४०, सगरका ४६४ र श्रीरामका ३२७ सिलिन्डर रहेका छन् । त्यस्तै एसटीसीका ३२०, श्रीका २८०, ओमका १४०, भानुका ८०, साईबाबा/श्रीकृष्णका ७०, श्रीमायाका ६२ तथा लोकप्रिय र सूर्य ब्रान्डका ५३/५३ सिलिन्डर वितरण भएको जानकारी निगमले दिएको छ ।

सरकारले आइतबार काठमाडौंका ७ स्थानबाट ग्यास वितरण गर्ने भन्दै अर्को सूचना जारी गरिसकेको छ ।

अभावको कारण र सरोकारवालाको आलोचना

गत वर्ष पुसदेखि देखिएको ग्यास अभावलाई नियन्त्रण गर्न आयल निगमले माघको अन्तिमदेखि ७.१ किलो मात्र भरिएको ‘आधा सिलिन्डर’ बिक्री गर्दै आएको थियो । करिब चार महिना आधा सिलिन्डरकै भरमा बजार धानिए पनि ३१ असारदेखि पूर्ण १४.२ किलो सिलिन्डर पठाउन थालिएसँगै अभाव झन् चर्किएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार साउन १ देखि २९ गतेसम्म भारतबाट २ हजार ७८१ बुलेट ग्यास आयात भएको छ । सामान्य अवस्थामा बजारमा दैनिक एक लाख १० हजार सिलिन्डर खपत हुने गरेकोमा यस अवधिमा दैनिक औसत एक लाख ३२ हजार सिलिन्डर वितरण भइरहेको छ । तर, उपभोक्ताका सिलिन्डर भने रित्तै छन् । बजारमा ग्यास पर्याप्त रहेको सरकारी दाबीबीच २२ प्रतिशत बढी आपूर्ति कहाँ हरायो भन्ने प्रश्न उठेको छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले ग्यास वितरणको हालको प्रक्रिया उपभोक्ताका लागि झन् सास्तीपूर्ण बनेको बताए । सरकारले तोकेका केन्द्रहरूमा पुगेका आधाभन्दा बढी उपभोक्ता रित्तो हात फर्किनुपरेको उनको भनाइ छ । तथ्यांक र वास्तविकताबीच ठूलो अन्तर देखिएको उनले बताए । दिनभर लाइन बस्दा पनि ग्यास नपाउनु र झरीमा वृद्धवृद्धा तथा महिलाले सिलिन्डर बोकेर भौंतारिनुपर्नु अत्यन्तै दुःखद भएको उनको तर्क छ । कालोबजारी नियन्त्रण गर्न र अति आवश्यक परेका नागरिकलाई प्राथमिकता दिने गरी संयन्त्र बनाउन उनले सरकारसँग माग गरे । घर नजिकैका डिलरमार्फत व्यवस्थित वितरण नगरी सरकार आफैँ खुद्रा व्यापारमा होमिएको उनको आरोप छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले भने यसलाई एउटा अभ्यासका रूपमा व्याख्या गरे । शनिबार करिब ७ हजार परिवारको घरमा ग्यास पुर्‍याइएको उनले बताए । काठमाडौं उपत्यकाभित्र ग्यास प्लान्ट नभएकाले टाढाबाट ढुवानी गर्दा केही ढिलाइ भएको उनको भनाइ छ । केही वितरण केन्द्रमा विशेष ब्रान्डका ग्यास नपाएको गुनासोबारे उनले एक–दुई ब्रान्डका बुलेट समयमा नआउँदा केही उपभोक्ता रित्तै फर्किनुपरेको स्वीकार गरे । छुटेकालाई कुपन दिएर पठाइएको र भोलि व्यवस्थापन गरिने उनले बताए ।

नेपाल ग्यासका सञ्चालक गोकुल भण्डारीले सरकारले तोकेका पाँचवटा केन्द्रमा मात्रै २ हजार ८८० सिलिन्डर ग्यास पठाएको बताए । तर, माग यति धेरै छ कि त्यो पर्याप्त नभएको उनको भनाइ छ । भारतबाट हुने आपूर्ति कूटनीतिक तवरले बढाउन नसकिएसम्म र डिलरमार्फत वितरणलाई पारदर्शी नबनाइएसम्म उपभोक्ताले यस्तै सास्ती खेप्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।