मुख्य सामग्रीमा जानुहोस्

२०औं एसियन गेम्सका लागि तेक्वान्दोमा तीन खेलाडी छनोट, १६ वर्षपछि पदकको आशा

एसियन गेम्समा नेपाली तेक्वान्दोको दबदबा खुम्चिँदै गएको छ । यसपटक जापानमा हुने २०औं संस्करणमा तीन खेलाडी मात्र छनोट भएका छन् । १६ वर्षदेखिको पदक खडेरी तोड्ने चुनौती अभिषेक बरालसँग छ ।

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

जापानको आइची–नागोयामा आयोजना हुने २०औं एसियन गेम्समा नेपाली तेक्वान्दोको उपस्थिति तीन खेलाडीमा सीमित भएको छ । अभिषेक बराल, युवराज राना र स्वस्तिका तामाङले आगामी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको हो । तर, यसपटकको छनोट प्रक्रिया र वरियताको कडाइले गर्दा पहिलेका संस्करणको तुलनामा नेपाली टोलीको आकार खुम्चिएको छ ।

फाइट अर्थात् ग्योरोगी विधामा नेपालबाट एक्लो खेलाडीका रूपमा अभिषेक छन् भने पुम्सेमा पुरुषतर्फ युवराज र महिलातर्फ स्वस्तिकाले प्रतिस्पर्धा गर्नेछन् । मंगोलियामा भएको छनोट प्रतियोगितामा नेपालका कुनै पनि खेलाडी प्रत्यक्ष छनोट हुन सकेनन् । अभिषेकले छनोटपछिको वरियतामा शीर्ष १६ मा रहेर आइची–नागोयाको टिकट पक्का गरेका हुन् । युवराज पनि सोही प्रक्रियाबाट छानिए । स्वस्तिकाका लागि भने वाइल्ड कार्डले काम गर्यो ।

समृद्ध इतिहास, खुम्चिँदो उपस्थिति

तर, यसअघि नेपाली तेक्वान्दोले एसियन गेम्समा जसरी दबदबा बनाएको थियो, अहिले त्यो अवस्था छैन । विधान लामा, संगिना वैद्य, दीपक विष्ट, सविता राजभण्डारी लगायतले तेक्वान्दोलाई नेपाली खेलकुदको पहिचानसँग जोडेका थिए । विधान लामाले सन् १९८६ को सोल एसियन गेम्समा नेपाललाई पहिलो पदक दिलाएका थिए । त्यसपछि सन् १९८७ मा बार्सिलोनामा भएको आठौं विश्व तेक्वान्दो च्याम्पियनसिपमा ऐतिहासिक कांस्य र सन् १९८८ को सोल ओलम्पिकमा प्रदर्शनी खेलका रूपमा समावेश तेक्वान्दोमा अर्को कांस्य जितेका थिए ।

सविता राजभण्डारीले सन् १९९८ मा एसियन गेम्समा रजत जितेर इतिहास रचेकी थिइन् । संगिना वैद्यले सन् २००४ मा पहिलो पटक छनोट भएर ओलम्पिक खेलेकी थिइन् भने दीपक विष्टले सन् २००८ को ओलम्पिक खेले । दीपक विष्टले एसियन गेम्समा लगातार दुई पटक पदक जित्नुका साथै दक्षिण एसियाली खेलकुदमा लगातार चार संस्करण स्वर्ण जितेका थिए । दीपक विष्ट अहिले राष्ट्रिय टिम तयारीको संयोजक बनिसकेका छन्, तर उनीपछि भने एसियन गेम्समा पदक जित्ने अर्को खेलाडी देखिएको छैन ।

एसियन गेम्समा नेपालले हालसम्म जितेका २६ पदकमध्ये आधाभन्दा बढी तेक्वान्दोले नै ल्याएको छ । तर, सन् २००६ को दोहा एसियन गेम्सपछि भने तेक्वान्दो पदकविहीन छ । दोहामा दीपक विष्ट, मनिता शाही र आयशा शाक्यले कांस्य जितेका थिए । त्यसयता सन् २०१०, २०१४, २०१८ र २०२२ मा तेक्वान्दोबाट कुनै पनि पदक आउन सकेको छैन ।

छनोटको कठिन बाटो

यस पटक छनोट चरण नै खेल्नुपर्ने व्यवस्था लागु भएपछि नेपाली खेलाडीको संख्या झन् घटेको हो । फाइट विधामा नेपालबाट सात खेलाडीले छनोट खेलेका थिए, जसमा पुरुषतर्फ तीन र महिलातर्फ चार थिए । तीमध्ये अन्तिममा अभिषेक मात्र छानिए । पुम्सेतर्फ युवराज र स्वस्तिकाले पनि छनोट खेलेका थिए, तर प्रत्यक्ष अवसर नपाएपछि वाइल्ड कार्डमार्फत स्थान बनाएका हुन् ।

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा एसियन गेम्सका व्यवस्थापक भान बहादुर चन्दले आर्थिक कारणले धेरै खेलाडी छनोटमा पठाउन नसकिएको बताए । उनका अनुसार छनोट खेल्नुपर्दा खेलाडी घटेका हुन् । “सिधै खेल्न पाउने अवस्थामा जति धेरै खेलाडी सहभागी हुन्छन्, पदकको सम्भावना त्यति नै बढी हुन्छ,” चन्दले भने ।

हाल अभिषेक लगायत तीनै जना खेलाडी सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा तयारीमा जुटेका छन् । अभिषेकलाई अफगानिस्तानी प्रशिक्षक सायद हसन रेजयले प्रशिक्षण दिइरहेका छन् । पुम्सेका दुई खेलाडीलाई भने नेपाली प्रशिक्षकले तयार पारिरहेका छन् ।

पदककै लक्ष्यमा अभिषेक

ग्योरोगीमा एक्लो खेलाडी भएकाले आफूमाथि ठूलो जिम्मेवारी रहेको अभिषेकले बताए । “फाइटमा एक जना मात्र भएकाले सबै जिम्मेवारी ममाथि छ,” उनले भने, “त्यहीअनुसार तयारी गरिरहेको छु र राम्रो नतिजा आउने आशा छ ।” विदेशी प्रशिक्षक आएपछि आफ्नो खेलस्तरमा सुधार भएको पनि उनले उल्लेख गरे ।

रुपन्देहीको भैरहवाका अभिषेक अहिले नेपाल पुलिस क्लबमा आबद्ध छन् । सानैदेखि मार्सल आर्ट्सप्रति आकर्षण राख्ने उनले २०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेपछि राष्ट्रिय टिममा स्थान बनाएका थिए । सन् २०२३ मा हाङचाउमा भएको १९औं एसियन गेम्स पनि खेलेका उनले सन् २०२४ मा इन्डोनेसियामा भएको कासाद छैटौं एसियन तेक्वान्दो ओपन च्याम्पियनसिपमा रजत जितेका थिए । गत वर्ष उनले विश्व तेक्वान्दो हान्मादाङ, जर्मनीको फिसु विश्व युनिभर्सिटी गेम्स, चीनको उक्सीमा भएको विश्व तेक्वान्दो ग्रान्डस्लाम च्याम्पियनसिप र विश्व तेक्वान्दो च्याम्पियनसिप गरी चार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए ।

सन् २००६ पछि एसियन गेम्समा तेक्वान्दो पदकविहीन रहेको अवस्थामा यो पटक त्यो खडेरी तोड्ने चुनौती अभिषेकसँग छ । उनले यसलाई दबाब नभई अवसरका रूपमा लिएको बताए । “१६ वर्षदेखि पदक आएको छैन,” उनले भने, “मेडल ल्याउन सके त्यो खडेरी पूरा हुन्छ । त्यसैले यसलाई उत्साहका रूपमा लिएको छु ।”

संघका उपाध्यक्ष चन्दले भने नयाँ पुस्ताका खेलाडीप्रति आशावादी देखिएका छन् । उनले जुनियर टिमले राम्रो गरिरहेको र विदेशी प्रतियोगितामा प्रदर्शन सुधारिँदै गएकाले आगामी दिनमा नतिजा आउने विश्वास व्यक्त गरे । यसैबीच, २०औं एसियन गेम्स र पाँचौं एसियन पारा गेम्समा गरी नेपालबाट तेक्वान्दो र पारा तेक्वान्दोका जम्मा पाँच खेलाडी सहभागी हुनेछन् ।