काठमाडौं उपत्यकामा हरेक मनसुनमा देखिने सहरी डुबान ‘अत्यधिक वर्षा’को समस्याभन्दा पनि सहरी विकास र पानी व्यवस्थापनबीचको सन्तुलन गुमेको समस्याका रूपमा व्याख्या गरिएको छ। टेकु, अनामनगर, तिनकुने र माइतीघर क्षेत्रका सडक २०–३० मिनेटको झरीले नै नदी र पोखरीजस्तै बन्ने गरेको यथार्थ छ। जियोम्याटिक्स इन्जिनियर तथा आइसिमोडका रिमोट सेन्सिङ एवं जियोस्पेसियल एसोसिएट धाकलको विश्लेषणले पानी थेग्ने जमिनको क्षमता घटेकाले डुबानको जोखिम बढेको निष्कर्ष निकालेको छ।
वर्षाको प्राकृतिक व्यवस्थापनमा पानीको एक हिस्सा जमिनमा पसेर भूमिगत भण्डारमा पुग्ने, केही पोखरी, सिमसार वा खाल्डामा केही समय रहने र केही निकासका रूपमा नदीतर्फ बग्ने गर्छ। तर सहरी क्षेत्रमा जमिन छिर्ने पानी निकै कम हुन्छ र अधिकांश पानी एकैपटक निकासतिर धकेलिन्छ। निकास र नदीले भ्याउन नसक्ने अवस्थामा सडक नै बग्ने नाला बन्ने उनको विश्लेषण छ।
चर्को सहरीकरण र क्षणिक बहाव
पछिल्लो केही दशकमा काठमाडौंको नक्सा नै बदलिएको छ। हरियाली खेतको ठाउँमा घर बनेका छन्, खुला क्षेत्र कङ्क्रिटले ढाकिएका छन् र सडक फराकिलो बनाएर कालोपत्रे गरिएको छ। उपत्यकामा पछिल्लो तीन दशकमा सहरी विस्तार ४०० प्रतिशतभन्दा बढी भएको अध्ययनले देखाएको छ। छाना, सडक र अन्य कठोर सतहले पानीलाई जमिनमा छिर्न दिँदैन। यस्तो बनोट भएको सहरमा थोरै समयको चर्को वर्षाले पनि ठूलो मात्रामा बहाव उत्पन्न गराउने धाकल बताउँछन्।
नदी किनारको अतिक्रमण र निकासको सीमा
सहरी विस्तारसँगै काठमाडौंका बागमती, विष्णुमती, ढोबी खोला, तुकुचा र हनुमन्तेजस्ता नदीहरूको किनार अतिक्रमणमा परेका छन्। किनारमा निर्माण गरिएका कङ्क्रिट पर्खालले नदीलाई थुन्छ र प्राकृतिक फैलावट क्षेत्रबाट अलग गर्छ। यसले पानीको सतह छिटो बढ्ने र नदी किनारमा बाढीको जोखिम बढ्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ।
त्यस्तै, निकास प्रणालीले सहरको विकासको गति भेट्न सकेको छैन। धेरै स्थानमा नाला साँघुरा छन्, कतिपय फोहोर, बालुवा र निर्माणजन्य सामग्रीले भरिएका छन् भने कतिपय ठाउँका नाला आपसमै राम्ररी जोडिएका छैनन्। मुख्य निकासमा पानीको भार बढ्नेबित्तिकै साना नाला पनि असफल हुने अवस्था आउँछ।
जलवायु परिवर्तन र परम्पराको समाधान
सहरीकरण र निकास समस्याका कारण मात्र होइनन्। जलवायु परिवर्तनले पनि डुबानलाई असर गरेको छ। मनसुनको समग्र पानीको मात्रा उस्तै रहे पनि केही घण्टामै अत्यधिक वर्षा हुँदा असर फरक हुन्छ। जमिन, नाला र नदीसँग पानीलाई थेग्ने वा बगाउने समय नहुँदा सहरका समस्या थप गम्भीर बन्छन्। जलवायु परिवर्तन आफैंमा समस्याको स्रोत नभएर जोखिम बढाउने कारक भएको धाकलको निष्कर्ष छ।
तर समाधानका लागि टाढा हेर्न नपर्ने उनको तर्क छ। उपत्यकाको परम्परागत बस्तीमा पोखरी, राजकुलो र हिटीहरू थिए, जसले पानीलाई जमिनमा छिराउने, वितरण गर्ने र भूमिगत जलस्रोतलाई टिकाउने काम गर्थे। खेत र खुला क्षेत्रमा पानीलाई भिज्ने समय पाउँथ्यो। तर सहरीकरणका क्रममा ती संरचनाहरू ढाकिए वा बेवास्ता गरिए।
विश्वमा चर्चित ‘स्पन्ज सिटी’को अवधारणाले पानीलाई तत्काल निकासमा धकेल्नुभन्दा जहाँ परेको छ त्यहीं सोस्ने, भण्डारण गर्ने, ढिलो बगाउने र पुनः प्रयोग गर्ने दृष्टिकोण राख्छ। पारगम्य सतह, खुला हरियाली, पोखरी पुनर्निर्माण, सिमसार संरक्षण, पानी छिर्ने खाल्डा र अस्थायी पानी थेग्ने क्षेत्र निर्माण यसका उपाय हुन्। यी उपायमध्ये कुनै एकले मात्रै काठमाडौंको समस्या समाधान नहुने तर सबै अपनाइए तीव्र वर्षामा निकास र नदीमा पुग्ने पानीको मात्रा र गति घटाउन सकिने धाकलको धारणा छ।
पुरानो काठमाडौंमा वर्षाको पानी माटोमा पस्ने, पोखरीमा जम्ने, भूमिगत भण्डारसम्म पुग्ने र बिस्तारै बग्ने गर्थ्यो। कङ्क्रिटीकरणपछि पानी छाना र सडकबाट तुरुन्तै निकासतिर धकेलिने भएको छ। भविष्यको काठमाडौंले पानीलाई जहाँ छ त्यहीं रोकेर यो सन्तुलन फर्काउन सक्ने उनी बताउँछन्। त्यसैले आगामी दिनमा नाला ठूलो बनाउनेभन्दा पनि सहरलाई पानी थेग्न सक्ने बनाउनेतर्फ सोच्नुपर्ने यस विश्लेषणको निष्कर्ष छ। धाकल जियोम्याटिक्स इन्जिनियर हुन् र आइसिमोडमा रिमोट सेन्सिङ तथा जियोस्पेसियल एसोसिएटका रूपमा कार्यरत छन्।





