काठमाडौं, ३ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा हुने टप एन्ड टी–२० सिरिजका लागि भिक्टोरिया सीए–११ ले आफ्नो टोली सार्वजनिक गरेको छ । विल सदरल्यान्डको कप्तानीमा रहने टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका र बिग ब्यास लिगमा सक्रिय खेलाडीहरू समावेश छन् ।
भिक्टोरियाको टोलीमा अस्ट्रेलियाका लागि टेस्ट खेलिसकेका अफस्पिनर टोड मर्फी पनि छन् । मर्फीलाई भिक्टोरियाको बलिङ आक्रमणका महत्वपूर्ण सदस्यका रूपमा लिइन्छ । यस्तै, बिग ब्यास लिगमा देखिएका साम हार्पर, ह्यारी डिक्सन, टम रोजर्स, क्यालम स्टो र क्याम्पबेल केलावे पनि टोलीमा परेका छन् ।
टप एन्ड टी–२० मा भिक्टोरिया सीए–११ ले नेपालको ए टोलीसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ । तालिकाअनुसार नेपाल ए र भिक्टोरिया सीए–११ बीचको खेल अगस्ट २९ मा हुनेछ ।
कप्तान सदरल्यान्ड अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका अलराउन्डर हुन् । उनी बिग ब्यास लिगको मेलबर्न रेनेगेड्सको कप्तानीसमेत गर्छन् ।
भिक्टोरिया सीए–११ को सम्पूर्ण टोलीमा विल सदरल्यान्ड (कप्तान), माइकल आर्चर, अस्टिन एन्जेलजार्क, लियाम ब्ल्याकफोर्ड, ह्यारी डिक्सन, साम इलियट, साम हार्पर, ह्यारी होक्स्ट्रा, क्याम्पबेल केलावे, ब्लेक म्याकडोनाल्ड, टोड मर्फी, टम रोजर्स, आर्यन शर्मा, क्यालम स्टो र ब्रोडी सिमोन्स छन् ।





