मुख्य सामग्रीमा जानुहोस्

नगरपालिकाबाटै कर सेवा पाएपछि सन्धिखर्कका सेवाग्राही लाभान्वित

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा सुरु भएको करदाता सेवाले स्थानीयलाई राहत पुर्‍याएको छ। नगरपालिकाबाटै प्यान, करचुक्ता प्रमाणपत्रलगायत सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीले छिटो र सहज सेवा पाएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
नगरपालिकाबाटै कर सेवा पाएपछि सन्धिखर्कका सेवाग्राही लाभान्वित
Online Khabar

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आफ्नै तहबाट थालेको करदाता सेवा प्रवाहले स्थानीय सेवाग्राही लाभान्वित भएका छन् । नगरपालिकाबाटै करसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीले सहज, छिटो तथा झन्झटमुक्त सेवा पाउन थालेका हुन् । सन्धिखर्क नगरपालिकामा तीन हजार पाँच सयभन्दा बढी करदाता सेवाग्राही रहेको बताइएको छ ।

गत जेठ १२ गतेदेखि करदाता सेवा प्रवाह सुरु भएको थियो । जेठ १२ गतेदेखि साउन मसान्तसम्म विभिन्न प्रकृतिका १६० फर्म तथा करदाताले सेवा प्राप्त गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल महतले जानकारी दिए । यस अवधिमा ३९ व्यवसाय प्यान र ३३ व्यक्तिगत प्यान जारी भएका छन् । त्यस्तै, ४३ फर्मले व्यवसाय प्यान बन्द गरेका छन् भने १८ फर्मले कारोबार संशोधन तथा प्रतिलिपि लिइसकेका छन् । २७ फर्मले करचुक्ता प्रमाणपत्रसमेत प्राप्त गरेको अधिकृत महतको भनाइ छ ।

नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले स्थानीय सरकार नागरिकको घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यले कर सेवा सञ्चालन गरिएको बताए । सामान्य करसम्बन्धी सेवा लिन टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको र आगामी दिनमा थप प्रविधिमैत्री, छिटो र प्रभावकारी सेवा विस्तार गरिने उनले जानकारी दिए ।

स्थानीय तहबाट कर सेवा सुरु भएसँगै नगरपालिकाप्रति नागरिकको विश्वास अझ मजबुत बनेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए । नगरपालिकाले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै करदातामैत्री वातावरण सिर्जना गर्ने लक्ष्य लिएको छ ।

विगतमा भने सामान्य करसम्बन्धी सेवाका लागि सेवाग्राहीहरू कपिलबस्तुको कृष्णनगरसम्म पुग्नुपर्ने अवस्था थियो ।