मध्य अफ्रिकी गणतन्त्र (सीएआर) को पश्चिमी भेगमा पर्ने सुन खानीमा गएको पहिरोका कारण एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। क्यामरुनको सिमानासँग जोडिएको क्षेत्रमा मंगलबार दिउँसो भएको यस घटनामा धेरै मानिस पुरिएका छन्।
बीबीसीले स्थानीय एक अधिकारीको भनाइ उल्लेख गर्दै घटनाको पुष्टि गरेको छ। क्यामरुन सीमा नजिकको गरुआ–बुलाई सहरका मेयर अदमो अब्दोनले बीबीसीलाई दिएको जानकारीअनुसार हालसम्म १०७ शव भेटिएका छन्। अधिकारीहरूले पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरेका छन्।
घटनापछि उद्धार तथा राहतका काम भइरहेका छन्। त्यसैबीच, घटनापछि सार्वजनिक भएको भिडियोमा खानीको एक भाग मानिसमाथि खसिरहेको देखिन्छ भने केही व्यक्ति दौडेर ज्यान जोगाउन खोजेको दृश्य पनि कैद भएको छ।







