चितवनको चारतारे होटल सिराइचुलीको व्यवस्थापन अब अमेरिकी होटल ब्रान्ड बेस्ट वेस्टर्न होटल्स एन्ड रिसोर्ट्सले गर्ने भएको छ। होटल सिराइचुली लिमिटेड र बेस्ट वेस्टर्नबीच व्यवस्थापन सम्झौता भएसँगै यो होटल ब्रान्डको नयाँ सदस्य बनेको हो।
सम्झौतामा होटलका अध्यक्ष चूडामणि खनाल र बेस्ट वेस्टर्नका चीन, मङ्गोलिया तथा नेपाल प्रेसिडेन्ट ह्यारी डोङले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार होटलको नाम ‘बेस्ट वेस्टर्न सिराइचुली होटल’ हुनेछ, जुन यसअघि ‘होटल सिराइचुली’ नामले चिनिन्थ्यो। चितवन राष्ट्रिय निकुञ्ज नजिक रहेको यो होटल करिब रु एक अर्बको लगानीमा निर्माण भएको हो। होटलमा ७१ कोठा छन्, जसमा डिलक्स, एक्जिक्युटिभ, मिनिसुइट र सुइट कोठा समावेश छन्। साथै, आधुनिक सम्मेलन तथा कार्यक्रम हलहरू पनि उपलब्ध छन्। हाल होटलको अकुपेन्सी दर ५० प्रतिशतभन्दा माथि रहेको जनाइएको छ।
सम्झौतापछि होटलले बेस्ट वेस्टर्नको विश्वव्यापी बुकिङ प्रणाली र अन्तर्राष्ट्रिय लोयल्टी कार्यक्रममा पहुँच पाउने भएको छ। यो ब्रान्डसँग जोडिएपछि होटल १०० भन्दा बढी देशमा फैलिएको सञ्जालमा आबद्ध हुनेछ। होटलका अध्यक्ष खनालले यसले होटललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन मद्दत पुग्ने बताए।
हस्ताक्षर समारोहमा बोल्दै अमेरिकी दूतावास नेपालका कार्यवाहक उपप्रमुख विल्बर्ट उअघ्नले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको होटलको व्यवस्थापन एउटा प्रतिष्ठित अमेरिकी ब्रान्डले गर्नु सकारात्मक भएको धारणा व्यक्त गरे। बेस्ट वेस्टर्नका प्रेसिडेन्ट ह्यारी डोङले चितवनलाई नेपालको अग्रणी पर्यटकीय गन्तव्य भन्दै होटललाई विश्वव्यापी प्रवर्द्धन गरी व्यवसाय विस्तार गर्ने प्रतिबद्धता जनाए।
होटलका प्रबन्ध निर्देशक विष्णु कुँवरले यो सम्झौताले चितवनको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए। यसैगरी, बेस्ट वेस्टर्नका नेपाल प्रतिनिधि आर्यन बास्तोलाले हाल नेपालमा काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक र गोदावरीमा दुई होटल ब्रान्डको व्यवस्थापनमा रहेको जानकारी दिए। नयाँ सम्झौतासँगै बेस्ट वेस्टर्नले नेपालमा व्यवस्थापन गर्ने होटलको सङ्ख्या तीन पुग्ने भएको छ।







