स्याङ्जामा आर्थिक वर्ष २०८२/८३ मा दर्ता हुने उद्योग तथा व्यावसायिक फर्मको तुलनामा खारेज हुनेको संख्या धेरै देखिएको छ। एकीकृत सेवा कार्यालय स्याङ्जाको तथ्यांकअनुसार सो अवधिमा २९१ नयाँ दर्ता भएका छन् भने ३३४ वटा खारेजीमा परेका छन्।
कार्यालयका अनुसार उद्योगतर्फ १४९ र वाणिज्यतर्फ १४२ गरी नयाँ दर्ता भएको हो। त्यस्तै, खारेजीमा उद्योगतर्फ १६९ र वाणिज्यतर्फ १६५ रहेका छन्। दर्ता र खारेजीको तुलना गर्दा ४३ वटा बढी उद्योग तथा फर्म बन्द भएको देखिन्छ।
नयाँ दर्ता भएका व्यवसायबाट जिल्लामा ३६ करोड ४० लाख रुपैयाँ लगानी थपिएको छ। उद्योगतर्फ २२ करोड २० लाख र वाणिज्यतर्फ १४ करोड २० लाख रुपैयाँ नयाँ लगानी भएको हो। खारेजीबाट भने ४१ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी बाहिरिएको छ, जसमा उद्योगतर्फ २५ करोड ३५ लाख र वाणिज्यतर्फ १६ करोड ५० लाख रुपैयाँ छ।
कार्यालय प्रमुख जीवन पौडेलका अनुसार नयाँ दर्ता हुने उद्योगमा महिलाको नाममा दर्ता हुने क्रम बढेको छ। दस्तुरमा महिलालाई ५० प्रतिशत छुट हुने व्यवस्थाले यसमा सहयोग पुर्याएको छ। नयाँ दर्ता भएकामध्ये कृषि, उत्पादनमूलक, सप्लायर्स र पर्यटन व्यवसाय बढी छन्।
खारेजी बढ्नुको मुख्य कारण वैदेशिक रोजगारीका लागि युवा पुस्ता विदेशिनु रहेको पौडेलको भनाइ छ। उनका अनुसार युवा विदेशिएपछि घरपरिवारका सदस्यले व्यवसाय धान्न नसक्ने अवस्था आउँदा फर्म तथा उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको हो।
सोही वर्ष जिल्लामा उद्योगतर्फ ९७६ र वाणिज्यतर्फ एक हजार २१ गरी एक हजार ९९७ उद्योग, फर्म तथा पसल नवीकरण भएका छन्। तीबाट करिब ६० लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।







