फिल्म ‘झिँगेदाउ’ शुक्रबारदेखि युट्युबमा उपलब्ध भएको छ । समाचार तयार पार्दासम्म फिल्मलाई २१ लाख पटक हेरिसकिएको छ । बक्सअफिसमा हिट भइसकेको यो फिल्मको पहिलो भाग युट्युबमा ल्याइएको हो ।
‘झिँगेदाउ’को दोस्रो श्रृंखला असोज २ गतेदेखि हलमा आउँदै छ । नयाँ श्रृंखला प्रदर्शन हुनुअघि पहिलो भागलाई युट्युब प्लाटफर्ममा सार्वजनिक गरिएको हो ।
यसैबीच ‘झिँगेदाउ २’ का लागि तीज पर्वलाई लक्षित गरी एउटा गीतको छायांकन भएको छ । शीर्ष गीतमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माले नृत्य गरेका छन् ।
गीतमा उनीहरू रातो सारीमा देखिएका छन् । दुवैले मादल बजाउँदै नोकझोंकसमेत गरेका छन् । यस गीतमार्फत कथानुसार जेठानी–देउरानीको झगडा प्रस्तुत गरिएको छ ।
गीतमा बाबुल गिरीको शब्द तथा संगीत, एलिना चौहान र रचना रिमालको स्वर र रामजी लामिछानेको नृत्य निर्देशन छ । यो गीत भदौ १० गते सार्वजनिक गरिनेछ ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपाल प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ । फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको छ ।


