मुख्य सामग्रीमा जानुहोस्

१३ वर्षीया चिनियाँ पौडीबाज यु जिदी २०औं एसियन गेम्सकी सबैभन्दा कान्छी खेलाडी बन्ने लाइनमा

जापानमा हुने २०औं एसियन गेम्समा चिनियाँ पौडीबाज यु जिदी सबैभन्दा कान्छी सहभागी बन्ने भएकी छिन्। गत वर्ष विश्व एक्वाटिक्स च्याम्पियनसिपमा उनले १२ वर्षको उमेरमै कांस्य पदक जितेकी थिइन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
१३ वर्षीया चिनियाँ पौडीबाज यु जिदी २०औं एसियन गेम्सकी सबैभन्दा कान्छी खेलाडी बन्ने लाइनमा
Online Khabar

जापानको आइची र नागोयामा हुने २०औं एसियन गेम्समा ११ हजारभन्दा बढी खेलाडी सहभागी हुने भएका छन्। सहभागी राष्ट्रहरूले आ-आफ्ना खेलाडीको संख्या सार्वजनिक गरिरहेका बेला चिनियाँ पौडीबाज यु जिदी पनि यस प्रतियोगितामा देखिनेछिन्।

१३ वर्षीया यु जिदी २०औं एसियन गेम्सकी सबैभन्दा कान्छी खेलाडी बन्ने लाइनमा छिन्। उनको उमेर अक्टोबरमा मात्र १४ वर्ष पुग्नेछ।

सानै उमेरदेखि पौडी सुरु गरेकी यु जिदी किशोर उमेरमै स्टार बनिसकेकी छन्। गत वर्ष सिंगापुरमा आयोजित विश्व एक्वाटिक्स च्याम्पियनसिपमा उनी १२ वर्षको उमेरमा सहभागी भएकी थिइन्। सो प्रतियोगितामा उनले सबैभन्दा कान्छी खेलाडी बन्दै कांस्य पदक जित्न सफल भइन्।

सन् २०२३ मा घरेलु भूमिमा सम्पन्न १९औं एसियन गेम्समा चीनले २०१ स्वर्ण पदकसहित उत्कृष्ट प्रदर्शन गरेको थियो। यस पटक पनि विजयी लय कायम राख्न चीनले प्रयास गर्दै छ। त्यसै अभियानमा यु जिदी पनि पदकको लक्ष्यसहित प्रतिस्पर्धामा उत्रनेछिन्।

२०औं एसियन गेम्समा अर्का चर्चित किशोर खेलाडीका रूपमा भारतीय क्रिकेटर वैभव सूर्यवंशी छन्। १५ वर्षीय वैभव भारतीय क्रिकेट टोलीमा समावेश भएका छन् र यसअघि नै राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन्।

यस्तै, फिलिपिन्सकी २१ वर्षीया टेनिस खेलाडी एलेक्स इआएला पनि यस प्रतियोगिताको आकर्षण हुनेछिन्। यस पटकको एसियन गेम्समा ४३ खेलका ७१ विधामा प्रतिस्पर्धा हुनेछ।