मुख्य सामग्रीमा जानुहोस्

आकस्मिक कक्षमा बेड अभाव : उपचार नपाई बिरामीको ज्यान जाने क्रम जारी

मोरङका ४५ वर्षीय डोलबहादुर थापा बेड नपाएर आकस्मिक कक्ष बाहिर एम्बुलेन्समै ज्यान गुमाए । वीर अस्पतालमा एउटै बेडमा तीन–चार जना बिरामी राख्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
आकस्मिक कक्षमा बेड अभाव : उपचार नपाई बिरामीको ज्यान जाने क्रम जारी
Online Khabar

आकस्मिक उपचारका लागि अस्पतालको इमर्जेन्सी वार्डसम्म पुग्ने बिरामी र आफन्तले उपचार थालिन्छ भन्ने आशा बोकेका हुन्छन् । तर, देशका दुई ठूला सरकारी अस्पताल – त्रिवि शिक्षण अस्पताल (टिचिङ) र वीर अस्पताल – का आकस्मिक कक्षमा बेड अभावका कारण यो आशा पूरा हुन सकेको छैन । उपचारकै पालो कुर्दै कतिपय बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था दोहोरिएको छ ।

२९ साउन दिउँसो मोरङका ४५ वर्षीय डोलबहादुर थापालाई परिवारले थप उपचारका लागि टिचिङ अस्पताल ल्याएका थिए । डायलासिस गराइरहेका उनमा स्ट्रोकको समस्या देखिएको थियो । काठमाडौं मेडिकल कलेजबाट रेफर भएर आएका थापालाई आकस्मिक कक्षमा बेड नभएपछि एम्बुलेन्समै राखिएको थियो । चिकित्सकले केही समय कुर्न आग्रह गरे । तर, १५ देखि २० मिनेटको अन्तरालमै उनको एम्बुलेन्सभित्रै मृत्यु भयो । मृतककी छोरीले बुबालाई भित्र लगेर उपचार गरेको भए बुबा भन्न पाइने थियो भन्दै रोइन् ।

वीर अस्पतालमा एकै बेडमा तीन बिरामी

यस्तै अवस्था नेपालको सबैभन्दा पुरानो अस्पताल मानिने वीर अस्पतालको आकस्मिक कक्षमा पनि छ । १ भदौ बिहान त्यहाँ बिरामी र आफन्तको चर्को भीड थियो । एउटै बेडमा तीन जनासम्म बिरामी राखिएका थिए । सुरक्षाकर्मीले आफन्तलाई बाहिर निकाल्नै मुस्किल परिरहेको थियो ।

गोरखाका ४९ वर्षीय बलबहादुर गुरुङ दुई दिनदेखि वीरकै आकस्मिक कक्षमा भर्नाका लागि पालो कुरेर बसेका छन् । पेटको समस्या भएका उनी एकै बेडमा अर्का बिरामीसँग बस्न बाध्य छन् । पिसाबको पाइप जडान गरिएका उनले बस्नसमेत असहज भइरहेको गुनासो गरे । उनलाई मेडिकल वार्डमा भर्ना गर्नुपर्ने भनिए पनि बेड नभएको भन्दै आकस्मिक कक्षमै राखिएको छ ।

संक्रमण फैलिने जोखिमसमेत

बेडको अभावसँगै एकै ठाउँमा थुप्रै बिरामी राख्दा संक्रमण सर्ने जोखिम पनि बढेको छ । थानकोटकी मिर्गौला रोगी चन्द्रवती राईलाई श्वासप्रश्वासमा समस्या भएपछि २१ साउन साँझ वीर अस्पताल लगिएको थियो । बेड नपाएपछि उनी घर फर्किनुपर्यो । रातभर अवस्था बिग्रदै गएपछि बिहान फेरि अस्पताल आउँदा अक्सिजन दिनुपर्यो ।

करिब साढे पाँच वर्षदेखि नियमित डायलासिस गर्दै आएकी राईलाई आकस्मिक कक्षमा अन्य दुई बिरामीसँग राखिएको छ । उनले आफू क्षयरोग भएका बिरामीको नजिक बस्नुपरेको र अस्पतालबाटै अर्को रोग थपिने डर रहेको बताइन् । आकस्मिक कक्ष प्रमुख डा. सुरेश नेपालका अनुसार वीरमा दैनिक १ सयभन्दा बढी नयाँ बिरामी आउँछन् । उनले एउटा बेडमा चार जनासम्म राख्नु राम्रो अभ्यास नभए पनि बेड नहुँदा बाध्यता रहेको प्रस्ट पारे ।

हुम्लाबाट उपचार खोज्दै आएकी आमा

हुम्लाका पदम परियारले मुटुको भल्भमा समस्या देखिएकी ६८ वर्षीया आमा पानसरा दमाईलाई उपचारका लागि काठमाडौं ल्याएका छन् । दुई दिन सडक यात्रा गरी बाजुरा पुगेर त्यहाँबाट विमान चढेर नेपालगन्ज हुँदै उनीहरू काठमाडौं आइपुगेका थिए । राजधानी आएको एक हप्ता बित्दा पनि वीर अस्पतालको मुटु वार्डमा बेड नपाएपछि उनीहरू आकस्मिक कक्षमै छन् । परियारले हुम्लाजस्तो दुर्गम ठाउँमा मात्र नभई राजधानीमा समेत उपचारको व्यवस्थापन नरहेको गुनासो गरे । उनले अहिलेसम्म दुई लाखभन्दा बढी खर्च भइसकेको समेत बताए ।

जनशक्तिको दुरवस्था

वीरको आकस्मिक कक्षमा ५० बेड रहे पनि दैनिक डेढ सयसम्म बिरामी आउने गरेका छन् । दरबन्दी भने पुरानै छ । सरकारी मापदण्डअनुसार दुई बेडका लागि एक मेडिकल अफिसर र एक नर्स हुनुपर्ने हो, तर छ बेड बराबर एक÷एक जना मात्र छन् । कन्सल्टेन्ट चिकित्सक पाँच जना मात्र छन् । आकस्मिक मेडिसिनमा विशेषज्ञता हासिल गरेका चिकित्सक पनि आकस्मिक कक्षमा खटिएका छैनन् । रातिको समय मेडिकल अफिसरकै नेतृत्वमा आकस्मिक कक्ष चलाउनु परिरहेको छ ।

टिचिङमा ‘एक बेड, एक बिरामी’ नीति र यसको पाटो

टिचिङ अस्पतालले भने एउटै बेडमा तीन जनासम्म राख्ने पुरानो व्यवस्था हटाएर ‘एक बेड, एक बिरामी’ को नीति लागू गरेको छ । यसले संक्रमणको जोखिम कम भए पनि बेड नपाउने बिरामीको समस्या भने थपिएको छ । अस्पतालको आकस्मिक कक्षमा ७५ बेड छन् । तर, दैनिक ३० भन्दा बढी बिरामीलाई बेड नपुगेपछि एम्बुलेन्सबाटै अर्को निजी अस्पताल पठाउनुपर्ने अवस्था छ । बेडका लागि कतिपय बिरामी आकस्मिक कक्षमै पाँच दिनसम्म कुर्नुपरेको आकस्मिक कक्षका डा. रामप्रसाद न्यौपाने बताउँछन् ।

कोटेश्वरका गंगाबहादुर तामाङ पनि डेढ सातादेखि टिचिङकै आकस्मिक कक्षमा बेडको प्रतीक्षामा छन् । अचानक रिंगटा लागेर सडकमा लडेका उनलाई सिभिल अस्पताल लगिएको थियो । स्नायुसम्बन्धी समस्या देखिएकाले न्युरो मेडिसिनमा जाँच्न सुझाइयो । तर, न्युरोका चिकित्सक बिदामा भएकाले टिचिङ रेफर गरियो । टिचिङमा बेड नभएपछि उनलाई अब्जरभेसनमा राखिएको छ । गम्भीर बिरामीका लागि बेड खाली राख्नुपर्ने भन्दै पटकपटक कुर्न भनिएको उनले बताए । चिकित्सकले आफ्नै जोखिममा घर फर्किनुपर्ने बताएपछि उनी निराश छन् ।

डा. न्यौपानेले गुणस्तरीय सेवा र बिरामीको पहुँचबीच सन्तुलन मिलाउनु नै अहिलेको ठूलो चुनौती रहेको बताए । सबै बिरामीलाई भित्र छिराएर एउटै बेडमा धेरै राख्ने कि एक बेडमा एक जना राखेर गुणस्तरीय सेवा दिने भन्ने प्रश्नको उत्तर उनीसँग छैन । यस अवस्थाले संविधानले प्रत्याभूत गरेको आकस्मिक स्वास्थ्य सेवाको अधिकारमै प्रश्न उठाएको छ ।