फिफा विश्वकप २०२६ को फाइनल खेलको हाफटाइममा ऐतिहासिक शो हुने भएको छ। न्युयोर्क/न्युजर्सीको मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिना र स्पेनबीचको फाइनलको मध्यान्तरमा विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुति दिनेछन्। फिफाले पहिलो पटक यस्तो शो आयोजना गर्न लागेको हो।
कोल्डप्ले ब्यान्डका क्रिस मार्टिनले यस शोको क्युरेटरको भूमिका निर्वाह गर्नेछन्, जबकि ‘ग्लोबल सिटिजन’ नामक संस्थाले यसको निर्माण गरिरहेको छ। अमेरिकी सुपर बल शैलीमा आयोजना हुने यस कार्यक्रममा पप क्वीन म्याडोना, ल्याटिन पप स्टार शाकिरा, दक्षिण कोरियाली ब्वाइब्यान्ड बीटीएस, र ग्लोबल पप आइकन जस्टिन बिबर मुख्य आकर्षण हुनेछन्। त्यसबाहेक बर्ना ब्वाय, गुस्ताभो दुडामेल र पीएस२२ कोरससँग कोल्डप्लेको समेत प्रस्तुति रहने फिफाले जनाएको छ।
निःशुल्क प्रस्तुति र शिक्षा कोष
फिफा र आयोजक स्रोतका अनुसार यस प्रस्तुतिको लागि कुनै पनि कलाकारले पारिश्रमिक लिएका छैनन्। यसअघि सामाजिक सञ्जालमा म्याडोनाले ३० लाख डलर र बीटीएसले २८ लाख डलर पारिश्रमिक लिन लागेको हल्ला फैलिएको थियो, तर आयोजकले त्यसको खण्डन गर्दै सबै कलाकारले निःशुल्क प्रस्तुति दिन लागेको स्पष्ट पारेको छ।
हाफटाइम शो ‘फिफा ग्लोबल सिटिजन एजुकेसन फन्ड’ का लागि आयोजना गरिएको हो। यसको उद्देश्य विश्वभरका बालबालिकाको शिक्षा र फुटबलमा पहुँच बढाउन १० करोड डलर सहयोग जुटाउनु रहेको छ। यस कोषका लागि विश्वकपका प्रत्येक खेल र कार्यक्रमको टिकट बिक्रीबाट १ डलर छुट्याइएको छ। फिफा आफैंले शोको सम्पूर्ण व्यवस्थापन र उत्पादन खर्च बेहोर्नेछ।
समापन समारोहमा पनि ठूला कलाकार
फाइनल खेल सुरु हुनु ९० मिनेट अगाडि हुने समापन समारोहमा पनि विश्वप्रसिद्ध कलाकारको प्रस्तुति रहनेछ। अमेरिकी गायक तथा र्यापर पोस्ट मलोन मुख्य आकर्षण हुनेछन्। बेलायती पप आइकन रोबी विलियम्स, लउरा पाउसिनी र निकोल शेर्जिंगरले फिफाको आधिकारिक गीत ‘डिजाएर’ मा विशेष प्रस्तुति दिनेछन्। हलिउड अभिनेता टम क्रुज र युट्युब स्ट्रिमर स्पीड (ड्यारेन ज्यासन वाट्किन्स) पनि उक्त समारोहमा सहभागी हुनेछन्।
अमेरिकी राष्ट्रिय गान भने ओस्कार तथा ग्रामी अवार्ड विजेता गायिका जेनिफर हड्सनले गाउने कार्यक्रम छ। समापन समारोहमा पनि कलाकार वा सेलिब्रेटीलाई फिफाले नगद पारिश्रमिक दिनेछैन, जुन अन्तर्राष्ट्रिय खेलकुद महासंघको लामो समयदेखिको नियम हो।
विश्वभरका अर्बौं दर्शकले प्रत्यक्ष हेर्ने यस शोमा स्टेज सेयर गर्न पाउनु नै कलाकारका लागि ठूलो उपलब्धि र ब्रान्ड भ्यालु बढाउने अवसर मानिएको छ।






